
साहित्यकार पवन आलोक र उनकी धर्मपत्नी रेखा कँडेलका नाममा छोराछोरीहरूले एक लाख १११ रुपैयाँको पुरस्कार स्थापना गरेका छन् ।
नेपाल स्रष्टा समाजको सञ्चालन तथा व्यवस्थापन रहने गरी ‘रेखा–पवन स्रष्टा सम्मान’को स्थापना गरिएको हो ।
साहित्यकार पवन आलोक र उनकी धर्मपत्नी रेखा कँडेलका नाममा छोराछोरी विमला कँडेल, रीता कँडेल, सुनील कँडेल, अनिता कँडेल र बुहारी माला कटुवाल कँडेलद्वारा स्थापित उक्त सम्मानको सञ्चालनका लागि हाललाई १५ लाख रुपैयाँको अक्षय कोषको व्यवस्था गरिएको छ ।
अनामनगरको एउटा रेस्टुरन्टमा आयोजित पत्रकार सम्मेलनमा साहित्यकार आलोककी छोरी रीता कँडेलले आफूहरूले राष्ट्रिय वाणिज्य बैंकमा अक्षय कोषको स्थापना गरेको जानकारी दिँदै सम्मानको सम्पूर्ण व्यवस्थापन र सञ्चालन स्रष्टा समाजमा निहित रहने जानकारी गराइन् । यो सम्मान आउँदो वर्ष २०८१ को फागुन २४ गतेदेखि समर्पण गरिने जानकारी दिइएको छ ।
उक्त अवसरमा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले ‘रेखा–पवन स्रष्टा सम्मान’ पवित्र सम्मानका रूपमा स्थापित हुने विश्वास गर्नुभयो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले ‘रेखा–पवन स्रष्टा सम्मान’ गरिमापूर्ण हुने जानकारी गराउँदै सम्मान विवादरहित रूपमा स्थापित हुने विश्वास दिलाउनु भयो । सम्मान तथा पुरस्कारमा मौलाएको विकृति र सट्टापट्टा प्रवृत्तिबाट समाजका सम्मान तथा पुरस्कारहरू टाढै रहेको बताउँदै स्थापित सम्मान साहित्यमा कम्तीमा चार दशकको योगदान दिने व्यक्तित्वलाई प्रदान गरिने जानकारी दिनुभयो । यससम्बन्धी कार्यविधि छिट्टै निर्माण गरिने बताउनु भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

