साहित्यपोस्ट
लघुकथा समाजको बाह्रौंं वार्षिकोत्सव तथा स्रष्टासम्मान एवम् पुरस्कार वितरण एक कार्यक्रमका बीच हरेक पल डटकमको जुममा सम्पन्न गरेको छ । लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्व एवम् रंगकर्मी अशेष मल्लको प्रमुख आथित्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अध्यक्षको मन्तव्यबाट सुरु भएको कार्यक्रममा पद्मा रामचन्द्र लघुकथा सम्मानबाट सम्मानित प्रतिभा विजय सागर एवम् धनमान कथा पुरस्कारबाट पुरस्कृत स्रष्टा दिव्य गिरीको बारेमा प्रा.डा. लक्ष्मणप्रसाद गौतमको स्रष्टा चिनारी मन्तव्य राखेका थिए । डा. गौतमले दुवै स्रष्टा नेपाली आख्यान क्षेत्रका पुराना स्रष्टा भएको र नेपाली आख्यानको विकासमा उनीहरुको महत्वपूर्ण योगदान रहेको बताए ।
कार्यक्रममा नेपाली लघुकथाको लेखन र अनुसन्धानमा क्रियाशील रहेका, पद्मा रामचन्द्र लघुकथा सम्मानका संस्थापक डा. पुष्करराज भट्टले पद्मा रामचन्द्र लघुकथा सम्मान नेपाली लघुकथाका क्षेत्रमा अक्षयकोष सहित राखिएको पहिलो सम्मान भएको र यसले नेपाली लघुकथामा पुरस्कार र सम्मान परम्पराको विकासमा महत्वपूर्ण योगदान दिएको जिकिर गरे । उनले आज नेपाली लघुकथा समृद्ध हुनामा पछिल्लो पुस्ताले धेरै महत्वपूर्ण योगदान दिएको विचार व्यक्त गरेका थिए ।
धनमान लघुकथा पुरस्कारका संस्थापक धनमान श्रेष्ठले यो पुरस्कार स्थापनाको पाँच वर्ष भएको र लघुकथा पुरस्कारबाट नेपाली लघुकथाका विशिष्ट हस्ताक्षरहरू सम्मानित हुँदा आफूलाई खुशी लागेको बताए । लघुकथाकार कृष्ण बजगाईँ (बेलायत) ले नेपाली लघुकथाको विकास हुनुले आफूलाई खुशी लागेको कुरा व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि अशेष मल्लले लघुकथा लेखनमा महत्वपूर्ण शक्ति रहेको र खलीन जिब्रान जस्ता लेखक लघुकथा लेखेरै प्रसिद्ध भएको तथ्य प्रस्तुत गरे । उनले भने, “नेपाली उत्कृष्ट लघुकथालाई पनि अंग्रेजी भाषामा अनुवाद गराएर विश्वसाहित्यमा लैजाने काम लघुकथा समाजले गर्नुपर्छ ।”
कार्यक्रमका सभापति एवम् लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कोरोनाको कारणबाट उत्पन्न सङ्कटको बेला कम्प्युटर प्रविधि प्रयोग गरी जूम कार्यक्रममार्पmत् पुरस्कार वितरण तथा पुस्तक विमोचन गर्नु परेको कुराको जानकारी गराए ।
कार्यक्रममा संस्थाका सदस्य सुषमा मानन्धर चित्रकारले स्वागत र संस्थाकै अर्का सदस्य श्रीबाबु कार्की उदासले धन्यवाद ज्ञापन मन्तव्य राखेका थिए ।
कार्यक्रममा लघुकथाकार ममता मृदुलको लघुकथा कृति “सेलाएको सयपत्री”को विमोचन गरिएको थियो । उक्त कृतिका बारेमा लघुकथा समाजका उपाध्यक्ष ध्रुव मधिकर्मीले विचार राखेका थिए । मधिकर्मीले भने, “यस कृतिमा समकालीन जीवनका कथाहरु छन् ।”
कार्यक्रममा लघुकथाकारहरू वनमालि निराकार, हरिप्रसाद भण्डारी, विजय सागर, दिव्य गिरी, डा मित्र पाठक, कल्याण पन्त, राजु क्षेत्री अपुरो, सिन्धु गौतम, रुद्र ज्ञवाली र ममता मृदुलले लघुकथा वाचन गरेका थिए ।
कार्यक्रममा डा. लक्ष्मणप्रसाद गौतम, डा. पुष्करराज भट्ट, हरिप्रसाद भण्डारी, प्रा.डा. सावित्री मल्ल, डा. मित्र पाठक, नरेश अमात्य, कृष्ण जगाइँ, वनमालि निराकार, ध्रुव मधिकर्मी, हरिप्रसाद धनमान श्रेष्ठ, विजय सागर श्रेष्ठ, दिव्य गिरी, श्रीबाबु कार्की उदास, राजेश खनाल, ममता मृदुल, मधु पाठक, सुधिर ख्वबी, छविरमण सिलवाल, रुद्र ज्ञवाली, कल्याण पन्त, सुषमा मानन्धर, राजु क्षेत्री अपुरो, ममता मृदुल आदिको उपस्थिति रकेको थियो थियो ।
कार्यक्रमको सञ्चालन लघुकथा समाजका सदस्य छविरमण सिलवालले गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।