गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा उनको निधन भएको हो।
सोमबार अपराह्न साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि उनलाई मेडिसिटी अस्पताल लगिँदै थियो । ८२ वर्षीय उनकाे अस्पताल पुर्याउनुअघि नै निधन भएको हो । गत दशैँमा लडेर उनको टाउकोमा चोट लागेको थियो ।
आचार्यको पार्थिव शरीरलाई मङ्गलबार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।
१९९९ सालमा धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए । उनका ‘हजार सपनाहरूको, जति चोट दिन्छौं, मुटु जलिरहेछ’ लगायत गीत चर्चित छन् ।
२०४६ साल दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए ।
१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन् । आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् ।
उनको जीवनीमाथि ‘आचार्य’ नामक फिल्मसमेत निर्माण भएको छ । उनको चरित्रमा भक्तराजका ज्येष्ठ सुपुत्र सत्यराज आचार्यले अभिनय गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।