सिलगढ़ी: गोर्खाल्याण्ड आन्दोलनबारे केही आख्यानहरू बजारमा आइसके । यही मेसोमा गैर-आख्यान पनि प्रकाशित भएको छ । दार्जीलिङका पूर्व गोर्खाल्याण्ड योद्धा भोटू सिंह छेत्रीकृत लिखित गैर आख्यान कृति ‘चक्रव्यूहमा गोर्खा’ सालबारीस्थित प्रकाशनगृह बुकएण्टको प्रेक्षागृहमा दार्जीलिङ-सिक्किम इतिहास विशेषज्ञहरू, बङ्ग्लाभाषी बुद्धिजीवीहरू एवं सयाधिक दर्शकहरूको उपस्थितिमाझ पुस्तक लोकार्पित भएकाे छ  ।

गोर्खाल्याण्ड आन्दोलनसँग जोडिएका राजनीतिक-बुद्धिजीवी एवं वरिष्ठ नाट्यकार पी अर्जुनले अध्यक्षता गरेको लोकार्पण समारोहमा नामूद इतिहासकार डा. सोनाम बी. वाङ्ग्येल मुख्य अतिथि, पूर्व दार्जीलिङ नगरपालिकाध्यक्ष बीके प्रधान, वसन्त बी. लामा, पासाङ भोटिया, भानु लामा, प्रा. रिञ्जी भूटिया सम्मानित अतिथि रहेका ।

पी अर्जुनले अध्यक्षीय सम्बोधनमा भने, “गोर्खाल्याण्ड लिएर चिन्तनको संस्कार बसाउने आवश्याकता छ। चक्रव्यूहमा गोर्खाले यस दिशामा जनगणमा एउटा नयाँ चेतनाको आलोक प्रदान गर्ने निश्चित छ।”

कवि ज्ञानेन्द्र खतिवड़ाले सारगर्भित कृति निरूपण राख्दै भने, “गोर्खाल्याण्डको ऐतिहासिक दस्तावेजीकरणमा यो कृति महत्त्वपूर्ण छ। लेखकले साहस गरेर गहकिलो गैर आख्यान लेखेका छन्।”

गोर्खाल्याण्ड आन्दोलनको समर्थनमा लेखिएको बेस्टसेलर बाङ्ग्ला कृति ‘कञ्चनजङ्गाए अशान्तिर आगुन’-का लेखक-बुद्धिजीवी सौमेन नागले समारोहलाई सम्बोधन गर्दै दार्जीलिङका गोर्खाहरूले वर्षौदेखि उठाउँदै आएको गोर्खाल्याण्डको मुद्दा जायज रहेको दावी गर्दै भने, “केन्द्र र राज्य सरकार मिलेर समुदायमाथि फुटको राजनीति गरिरहेका छन्, त्यो गोर्खाल्याण्ड नदिने नियत हो। अब गोर्खाहरू एक हुने दिन आएको छ। यस्तो अवस्थामा चक्रव्यूहमा गोर्खाले उठाएको चक्रव्यूहको अन्तर्निहित अर्थ सबैले बुझ्ने खाँचो छ”।

कवि राजा पुनियानीले सर्जक भोटू सिंह छेत्रीसँग सर्जक संवादको सेसन चलाएका थिए, जसमा लेखक छेत्रीले भने, “विगतमा गरिएको गोर्खाल्याण्ड आन्दोलनमा १२ सयभन्दा बढ़ी शहीद र सयौँ पहाड़वासी बेपत्ता भएर पनि र पनि अद्यावधि टुङ्गो नलागेको गोर्खाहरूको राजनैतिक चिह्नारी गोर्खाल्याण्ड आन्दोलनको मुद्दालाई सम्बोधन गरेको छु”।

लेखकले ब्रिटिशकालमै हिलमेन्स एसोसिएशनले चालेको चिह्नारीको पाइला प्रान्त परिषद् हुँदै गोरामुमो, गोजमुमोको पहलमा आएर अड़किएको वृत्तान्त दिँदै ‘भारत-नेपाल शान्ति एवं मैत्री सन्धि, १९५०’-को वितर्कित ‘धारा ७’ अन्तर्गत रेसिप्रोकल’ मुद्दाको तर्क उठाउँदै भारतीय गणराज्यभित्र गोर्खा परिचयको शङ्खनाद गर्ने सुवास घिसिङको राजनैतिक उत्थान-पतनको विस्तृत लेखाजोखा गरेको बताए।

उनले थपे, “२२ अगस्त १९८८-मा घिसिङले ‘ड्रप’ गरेको आन्दोलनले विमल गुरूडहरूको नेतृत्वको टेको पाएपछि गुरूङ पनि घिसिङले थापेको दागोपापको ‘प्रो-भर्सन’ जीटीए थापेर आन्दोलनदेखि विमुख भएको उल्लेख गर्न भ्याएको छु”।

चार भागमा लेखिएको यस महत् ग्रन्थमा एकातिर, कङ्ग्रेसी इन्द्रजीत खुल्लरहरूको झुक्याईको क्रमबद्ध चर्चा छ भने अर्कोतिर, भाजपाले निरन्तर लोकसभा सासंद आसन सुनिश्चित गर्न कसरी केन्द्रीय राजनीतिको क्याल्कुलेटिभ म्यानुपुलेशनको अङ्कुशे गोर्खा समुदायमाथि हालेको छ, त्यसको समेत विमर्श गरेका छन्।

लेखकले यस कृतिमा डा. विधानचन्द्र रायको पालोदेखि चलेको ‘पपुलेसन-गेम’ अन्तर्गत गोर्खे समुदायलाई अल्पसङ्ख्यक पार्ने राज्य-प्रायोजित कुचक्र रहेको दस्तावेजसहित प्रमाण गरेको छन्। किताबको निष्कर्षमा पहाड़का गाउँबस्तीमा होम-स्टेको निहुँमा हतारिएर थोपिएको होटल-रेसर्ट अभियान, चियाकमानमा हुलिएको टी-टुरिजम-ले कसरी गोर्खा समाज अल्पसङ्ख्यक बन्दै जाने र गोर्खा पहिचानको मुद्दा कसरी सङ्कटतिर धकेलिने सम्भावना चुलिएको छ भन्ने अड़ान राखेका छन्।

गोर्खाल्याण्ड आन्दोलनको विश्वस्त राजनैतिक दस्तावेजीकरण मान्न सकिने ‘चक्रव्यूहमा गोर्खा’ ब्रिटिशकालदेखि समकालीन विन्दुसम्मको फेहेरिस्त हो। पहाड़को राजनीतिको रानीमासुमै पसेर काम गरेका भोटू सिंह छेत्रीको यस बृहत् ग्रन्थमा लेखकले केन्द्रीय सत्ता र राज्य सत्ताको साझा ‘चक्रव्यूह’ -मा परिसकेको गोर्खा समुदायको राजनैतिक इतिहासको अथेण्टिक न्यारेटिभलाई पाठकका लागि अघि ल्याएका छन्।

१२ जून १९५२ मा दार्जीलिङमा जन्मिएका भोटू सिंह छेत्री दार्जीलिङको राजनैतिक परिवेशमा बौद्धिक रूपले सक्रिय व्यक्तित्व हुन्। १९८६ को गोर्खाल्याण्ड आन्दोलनको आरम्भिक कालदेखि जोड़िएका बुद्धिजीवी भएको नातामा दार्जीलिङको राजनीतिमा बुनियादी सक्रियता राख्ने महत्त्वपूर्ण गोर्खाल्याण्ड ‘बौद्धिक-एक्टिभिस्ट’ कहलाइने हैसियत राख्छन्।

गोर्खाहरूको चिह्नारीको मुद्दामा गहिरो अभिज्ञता राख्दै सुनचरी समाचार, सुनाखरी समाचारलगायत विभिन्न पत्र-पत्रिकामा राजनैतिक रचनाहरू प्रकाशित गराएका छन्। गोर्खा नेशनल लिबरेशन फ्रण्ट, गोर्खा लिबरेशन फ्रण्ट र दार्जीलिङ सिभिल सोसाइटीका संस्थापक सदस्य रहेका हुन्। १९७६ देखि २०१२ सम्म दार्जीलिङ नगरपालिकामा सेवा पुऱ्याएका हुन्। ‘चक्रव्यूहमा गोर्खा’ यिनको पहिलो पुस्तक हो।

लामो समय सुवास घिसिङका निकट सहयोगीको रुपमा काम गरेका लेखक क्षेत्रीले आफ्नो कृतिलाई गोर्खाल्याण्ड आन्दोलनको विश्वस्त राजनैतिक दस्तावेजको रुपमा मान्न सकिने दाबी गरे । उनले ब्रिटिशकालदेखि समकालीन विन्दुसम्मको फेहेरिस्त कृतिमा समेटिएको उल्लेख गर्दै थपे, ‘गोर्खाल्याण्ड आन्दोलनलाई नजिकवाट बुझ्न कृति उपयोगी हुने छ ।’ सालबारीको बुकएण्ट पव्लिकेसनले वजारमा ल्याएको कृति ६०० पृष्ठको छ ।

बुकएण्टको पक्षबाट लेखक छेत्रीलाई लेखक प्रमाणपत्र हस्तान्तरण गरिएको थियो एवं ‘चक्रव्यूहमा गोर्खा’ का कभर आर्टिस्ट पेमा शेर्पा एवं ग्राफिक डिजाइनर रोशन तामाङलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

बुकएण्टका निर्देशक सुरज गुरुङले सञ्चालन गरेको समारोहमा दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक, डुवर्स, सिलगढ़ी, सालबारी एवं काठमाण्डुबाट भविलाल लामिछाने, जीत सोनार, टङ्क शर्मा, प्रा. कृष्णराज घतानी, प्रा. नरेशचन्द्र खाती, उदयन छेत्री, प्रवीण गुरुङ, भानु लामा, खगेन्द्र शर्मा, कौशिल्या मुखिया, जेबी बस्नेत, कृष्ण छेत्री, खग गुरागाइँ, सागर शर्मा, विजय वान्तवा कैलाशी, कृष्ण बस्नेत, वियोगी, जुनु गौतम, मनोज बोगटी, उमेश परियार, हेमन्त सुब्बा, प्रणय शङ्कर, शरद गुरुङ, दिवाकर प्रधान, बबिता मादेन, हेमन्त काफ्ले, सरस्वती शेर्पा, सुमन तोलाङ्गी, शैलेस छेत्री, पेमा लामा, पूर्ण मगर, मोनिका प्रधान, देविका सुब्बा, विमल शेर्पा जस्ता साहित्यिक, सामाजिक, बौद्धिक व्यक्तित्वको विशेष उपस्थिति रहेको थियो।