ललितपुर । नेपालभाषाका वरिष्ठ कवि तथा लघुकथाकार डा. आनन्द जोशीको विवाहको पचासौं वर्षको अवसरमा नयाँ काव्यकृति सार्वजनिक गरिएको छ ।

समारोहमा हिउपा:या संकेत (परिवर्तनको संकेत) कविता कृतिको सार्वजनिकी स्रष्टाका नातिद्धय रोनन जोशी र सोहन बाटाजुले गरेका थिए ।

सो अवसरमा स्रष्टा जोशीले पचासौं वर्षसम्म गरिएको निरन्तर सहयात्राले अनन्त यात्राको रुप लिने विश्वास व्यक्त गर्दै जीवनमा भोगेका र देखेका विविध अनुभूतिलाई कवितामा उतारेको बताए ।

कार्यक्रममा स्रष्टा जोशीका पुत्र ई. रिकि जोशी, पुत्री डा. रुबी जोशी बाटाजु र बुहारी मेरिन अमात्य जोशीले अभिभावकीय भूमिका निर्वाह गर्दै आएका आमाबुबाको दाम्पत्य जीवनलाई उत्सवमय बनाउन प्रियजनहरुसित खुशी बाँडेको बताए ।

कवि जोशी र डा.कुन्जनी जोशीको विवाहको पचासौं वर्षको अवसरमा आयोजित विशेष समारोहमा दम्पतिलाई कथाकार धु्रव मधिकर्मी, नेपालभाषा चिबाखं साहित्यका संयोजक नरेश अमात्य, मिसा साहित्यकार मुनाका अध्यक्ष अन्जना ताम्राकार र कुत पिकाकका निर्देशक विमल ताम्राकारले बधाइ तथा शुभकामना पत्र दिएका थिए ।

समारोहमा साहित्य, प्राध्यापन, आफन्त एवं शुभचिन्तकहरुको भव्य उपस्थिति थियो ।

रुबरिक र कुत: पिकाकबाट प्रकाशित हिउपाया संकेत कवितासंग्रहमा भीडको मानसिकता, पर्खालको नियाति, चेतनाको व्यापकता, समसामयिक अनुभूति र कोरोना आदि विविध विषयमा लेखिएका २५ वटा कविता छन् ।