साहित्यकार तथा पत्रकार राजेश खनालको संस्मरण सङ्ग्रह “घुरको धुँवा” सार्वजिनक भएकाे छ । प्रमुख अतिथि पूर्व निर्वाचन आयोगका आयुक्त डा. वीरेन्द्रप्रसाद मिश्रसहित विशेष अतिथिहरूले पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन् ।
नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रमको सभापति समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन रहेका थिए ।
कार्यक्रममा कृतिबारे समालोचक डा. ज्ञानु पाण्डेले भनिन्, “लेखकलाई सहयोग गर्ने जीवन साथीलाई धन्यवाद, यो संस्मरण मेरा मामा घरका विषयमा बाल्यकालका रमाइलो प्रसङ्ग भएकोले पनि पढ्न आतुर रहेको छु ।”
त्यस्तै अर्का समालोचक डा. विपिन अधिकारीले भने, “यो संस्मरणमा तराई परिवेशका रमाइला प्रसङ्ग छन्, तराईमा रहेका ७ प्रतिशत पहाडीको कथा यस पुस्तकमा रहेको छ । भाषामा स्थानीयत्व छ । यसले नेपाली साहित्यमा देहाती मधेसी नेपालीको प्रतिनिधित्व गरेको छ । मधेसको पहिचान सहित जीवन र जगतको राम्रो व्याख्या र प्रसङ्ग रहेको छ ।”
कार्यक्रममा खनाललाई बाल्यकालका मित्र समाजका महोत्तरीका अध्यक्ष नारायण घिमिरे तथा बार्हखरीका प्रधानसम्पादक प्रतीक प्रधानले पुस्तक प्रकाशनका लागि शुभकामना लिएका थिए ।
प्रमुख अतिथि मिश्रले साहित्यले समाजलाई जोड्ने काम गर्ने विचार राखे । उनले भने, ‘घुरको धुँवा खनालको यो कृतिले भूतलाई वर्तमान र राजधानीलाई तराईसँग जोडेको छ ।”
कृतिकार राजेश खनालले सबैप्रति आभार प्रकट गर्दै भने, ‘पत्रकारिता धर्म निर्वाह गर्दै यो लेखनीमा आएँ । प्रेरणा दिने सबै धन्यवादका पात्र हुनु हुन्छ ।”
नेपाल स्रष्टा समाजका उपाध्यक्ष चेतनाथ कडेँल हरितले स्रष्टा समाजले गरेका गतिविधिसहित खनालको सृजनकर्मको चर्चा गर्दै स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे सञ्चालन समाजका महासचिव देविका तिमल्सिनाले गरेका थिए ।
कार्यक्रममा पवन आलोक, किशोर पहाडी, छविरमण सिलवाल, शरदचन्द्र वस्ती, राजेन्द्र शलभ, श्रीबाबु कार्की, शरद निरौला, डा. शान्तिमाया गिरी, तुलसीहरि कोइराला, नयनराज पाण्डे, डा. सनतकुमार वस्ती, प्रकाश घायल, यादव भट्टराई, ठाकुर बेल्बासे, डा. सदानन्द कँडेल, जयदेव भट्टराईलगायत ५० बढी साहित्यानुरागीहरूको उपस्थिति रहेकाे थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।