काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा ‘भाषा संरक्षणमा कानुन व्यवसायीहरूको भूमिका र दायित्व’ विषयक विमर्श कार्यक्रम रामशाहपथस्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा सम्पन्न भएको छ ।

कार्यक्रममा कुलपतिले कानुन व्यवसायीहरूको क्षेत्र सबै तहतप्का र वर्गमा पर्ने भएकाले न्यायिक सर्वोच्चता भाषा र वाङ्ममयभित्र रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कानुन व्यवसाय बहुलभाषासँग सम्बन्धित भएकाले कानुन व्यवसायीले सबै भाषाको ज्ञान राख्नुपर्ने देखिन्छ । एकअर्को भाषामा प्रयोग हुने शब्दको उच्चाहरणमा प्रष्ट हुन सकिएन भने त्यसले न्यायिक फैसलामा त्रुटि हुनसक्छ । अधिकांश जनजातिको भाषामा ‘अ’ अक्षर छैन:- जस्तै तामाङले ‘मरेँ’ शब्दलाई ‘मारेँ’ भन्छन् । कुनै पनि समुदायले गर्ने उच्चाहरणप्रति कानुन व्यवसायीहरूको ध्यान पुग्यो भने मात्रै फैसलामा त्रुटि नरहने र पीडितले न्याय पाउने हुन्छ ।’

यसैगरी, परिस्थितिवश अर्थध्वंस भए केही महिना बाँच्न सकिने, राजनीतिक भ्याकुममा पनि बाँच्न सकिने तर भाषाविना बाँच्नै नसकिने उहाँले बताउनुभएको थियो ।

कुलपति राईले साबुनले शरीरको मैलो धुन्छ भने साहित्यले मगजको मैलो धोइदिने बताउँदै भन्नुभयो, ‘यसले असल संस्कृति सिकाउँछ । तसर्थ कानुन व्यवसायीहरूले पनि कथा, कविता, निबन्ध र उपन्यास पढ्नु उत्तम हुन्छ । जति पनि भ्रष्टाचारी छन्, तिनमा अपवादबाहेक कवि, साहित्यकारहरू भ्रष्टाचारी हुँदैनन् ।’

उहाँले भाषा र शब्द पनि मानिस जस्तै भएकाले भाषाको जैविकता बुझेर ‘प्रज्ञा नेपाली बृहत् शब्दकोष’मा युगानुकूल अर्थ खोज्दै परिमार्जन गर्नेमा जोड दिनुभएको थियो ।

माननीय पूर्व न्यायाधीश कमलनारायण दासले ‘कायस्थ’ जातिलाई होच्च्याउने गरी नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोष’मा अर्थ उल्लेख भएकाले सच्च्याउन जोड दिनुभएको थियो । उहाँले सबै मिलेर नेपालीभाषा र नेपालका मातृभाषालाई बचाउन अग्रसर हुनुपर्ने बताउनुभएको थियो ।

यसैगरी, प्रा.डा. भागवत ढकालले भाषाको प्रयोगमा ‘इन्तु र परन्तु’ मात्रै फरक पर्यो भने पनि धेरै अर्थ फरक पर्ने बताउँदै नेपाली भाषाको महत्त्वलाई ध्यान दिँदै विभिन्न भाषाबाट आएका शब्दहरूको सम्मान गर्ने गरौँ भन्नुभएको थियो ।

प्रा.डा. तथा वरिष्ठ अधिवक्ता नृसिंहकुमार खत्रीले ‘भाषाको संरक्षणमा काव्यको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले न्यायालयमा भाषाको प्रवेश र चलनको ऐतिहासिकता, भाषा जाग्ने-मौलाउने, फैलिने पद्धति, न्यायालयमा न्याय दिने विषय र विधालगायतका विषयलाई कार्यपत्रमा उल्लेख गर्नुभएको थियो ।

यसैगरी, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलाले जगबाटै भाषा बिगारिनु भनेको नियतवश गरिएको गल्ती रहेकाे बताउनुभयो । कुनै पनि मातृभाषा बचाउनमा आआफ्ना छोराछोरीलाई स्वयम् बाउआमाले पनि सिकाउनुपर्ने उहाँकाे जोड थियो ।

त्यसैगरी, वरिष्ठ अधिवक्ता तथा प्राध्यापक गुणनिधि न्यौपानेले कार्यक्रम समापनका क्रममा सबैको साझा सम्पत्ति भाषा रहेकाे मत राख्नुभयो । यसको संरक्षणमा सबै कानुन व्यवसायी र न्यायलय प्रतिबद्ध रहनुपर्नेमा उहाँकाे जोड थियो ।

कार्यक्रममा अधिवक्ता शेरबहादुर कार्कीले भाषामा आएको विचलनप्रति चिन्ता व्यक्त गर्दै स्वागत मनतव्य राख्नुभएको थियो । कार्यक्रमका उद्घोषक तथा सर्वोच्च अदालत बार एसोसिएसन भाषा, साहित्य, कला, संस्कृति समितिका सदस्य सचिव रामेश्वर राउत मातृदासले भाषा सार्वभौम सत्ता सम्पन्न राष्ट्र र आमनागरिकहरूको शक्ति र तागत हो भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो।

उक्त अन्तरविमर्श कार्यक्रम सर्वोच्चअदालत बार एसोसिएसनको स्वर्ण महोत्सवको अवसरमा सर्वोच्च अदालत बार एसोसिएसन भाषा साहित्य, कला संस्कृति समिति र नेपाल कानुन व्यवसायी भाषा साहित्य प्रतिष्ठान तथा निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान नेपालले संयुक्तरूपमा आयोजना गरेको थियो ।