पोखरा । साहित्य क्षेत्रमा कलम चलाउने जमात ठुलो छ । प्रकाशित भइरहेका साहित्यिक रचनाका पुस्तक बजारमा सजिलै उपलब्ध छन् । तर, यी रचनाका पाठक भने निकै थोरै । यी रचनाले पाठकमाझ चर्चा कमाउन सकेका छैनन् । विशेषगरी युवामाझ अहिलेका लेखकले छाप छाड्न सकेका छैनन् । साहित्यले युवाको गुम्फन लेख्न नसकिरहेको सुनाउँछिन् लेखक बिना थिङ । ‘समकालीन युवाहरुको गुम्फनको कुराहरु लेख्नै सकिरहेको छैनौं । त्यो कुरालाई हामीले सम्बोधन नै गर्न सकेका छैनौँ,’ उनले भनिन् ।
त्यसैले पनि आफ्नो र बजारमा उपलब्ध सिर्जनाबाट सन्तुष्ट नभएको सुनाउँछिन् उनी । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ११ औँ संस्करणको तेस्रो दिन भएको ‘कथाखरी बाह्रखरी’ सत्रमा बिनाले अहिलेको लेख रचना पुरानो पुस्ताको शिल्पशैली बोकेर लेखिरहेको बताइन् ।
‘म किन सन्तुष्ट छैन भने हामी अहिलेपनि ५० को दशको धङधङी बोकेर ५० कै दशकको शिल्पशैली बोकेर कथा लेखिरहेका छौँ,’ बिनाले सुनाईन् ।
पूरानो शैलीमा साहित्य सिर्जना रहिरहनुको अर्को कारण वाहवाही गर्ने मित्र मण्डली रहेको भनाइ छ राख्छिन् बिना । सन्तुलित समीक्षक नहुँदा पनि साहित्य खारिन नसकेको उनको विचार छ ।
‘समीक्षक आफनो मन पर्ने आफनो कित्ताका विचार मिल्ने चिन्तन मिल्ने साँझको रमरम मिल्ने साथीहरु हुनुहुन्छ भने काँधमा बोकेर हिँड्नु हुन्छ । एन्टि विचारको छ भने भित्तै पुर्याइदिनुहुन्छ । सन्तुलीत समिक्षा खै आएको ?,’उनले प्रतिप्रश्न गरिन् ।
सत्रमा बिनासँगै छलफलमा जुटेका थिए तै तैँ धिताल र मनोजबाबु पन्त । यी तीनै ब्राहखरीले आयोजना गर्ने कथा प्रतियोगितमा उत्कृष्ट तीन हुन् । बिनाको कथा प्रतियोगितामा प्रथम भएको थियो । यी लेखकको छलफलमा सहजकर्ताको भूमिका थिए नयनराज पाण्डे ।
छलफलमा मनोजबाबु पन्तले पनि पूरानो शैलीमा नेपाली साहित्य अघि बढिरहेकोमा सहमति जनाए । लेखकहरु धेरै भए पनि कथाहरु धेरै आएपनि फरक शैलीको आउन नसकेको उनको भनाइ छ ।
‘अहिले पनि जति कथा पढिरहेको छु ती कथाहरु गुरुप्रसाद मैनालीले सिर्जना गरेको सामाजिक यर्थाथवाद बिपी कोइरालाको कथाको शैली छ । फरक जनरामा काम हुन सकेको छैन,’ मनोजबाबु पन्तले सुनाए ।
साहित्यमा छाप छोडे पनि सन्तुष्ट सिर्जना हुन नसकेको उनको भनाइ थियो । उनले विदेशी लेखकको शैली उदाहरण दिँदै भन्छन् – कथाकारहरु सोसल कन्टेन रियालिटी कथावाचनको शैली त्यो चिजबाट टाढा जान नसकेको कोसिस गर्दापनि कोसिस बलियो हुन नसकेको प्रयासपनि अचकल्टो भएको ।
फरक शैली अपनाउन नसकेको समयमा कथाकारहरु नयाँ डाइमेन्सनमा पुग्ने विषय पर रहेको उनले सुनाए ।
बाह्रखरी कथा प्रतियोगितामा उत्कृष्टमा छानिएकी अर्की कथाकार हुन् तैँ तैँ धिताल । बर्मेली नागरिक उनी नेपाली साहित्यमा रुचि राख्छिन् । नेपाली भाषामा कथा लेखेपनि बर्मामा विविध कारणले छापिन नसकेको बताउँदै सो अवसर १२खरी दिएको सुनाइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।