उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा न.६ जलजलेमा वि.सं.२००७ सालको जनक्रान्तिका योद्धा, सामाजिक जागरणका प्रखर अभियन्ता तथा जनकवि गम्भीरबहादुर थापाको सालिक अनावरण गरिएकाे छ । प्रतिनिधि सभाका सम्माननीय सभामुख देवराज घिमिरेबाट फागुन ३ गतेका एक भव्य समारोहका बिच थापाकाे सालिक अनावरण गरिएकाे हाे ।

शिक्षासेवी व्यक्तित्व शंकरबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गम्भीरबहादुर थापाको व्यक्तित्वमाथि इतिहासविद् तथा वरिष्ठ पत्रकार कौशल चेम्जोङ, सालिकका स्रष्टा कलाकार विक्रमश्रीले प्रकाश पार्नुभएको थियो ।

यसैगरी, थापाको कवित्वको विषयमा पुण्य कार्कीले स्पष्ट पार्नुभएको थियो भने योगेन्द्र दाहाल, मानबहादुर मगर, नारायणबहादुर कार्की र सभामुख देवराज घिमिरेले सारगर्वित मन्तव्य राख्नु भएको थियो ।

युवा राजनीतिज्ञ तथा समाजसेवी व्यक्तित्व भागवत राउतले सञ्चालन गरेको उक्त कार्यक्रममा गम्भीरबहादुर थापाको तस्विर अंकित रु. १० को हुलाक टिकटमा टाँचासमेत लगाइएको थियो ।

को हुन् गम्भीरबहादुर थापा ? 

गम्भीरवहादुर थापाको जन्म वि.सं १९८१ साल असार १४ गते विहिवारका दिन उदयपुर जिल्लाको तत्कालीन डुम्रे गा वि.स. वडा नं. ६ ठूलोढुङ्ग्रे भन्ने गाउँमा भएको थियो । हाल उक्त गाउँ उदयपुरगढी गाउँपालिका वडा नं. ४ मा पर्दछ । पिता रत्नवहादुर थापा र माता बालकुमारी थापाको कोखवाट जन्मिनु भएका थापाले आफ्नो सम्पूर्ण जीवन सामाजिक जागरण देशोत्थानमा खर्चिनु भयो । २००७ सालको राणाविरोधी क्रान्तिमा होमिनु भएका थापाले प्रजातन्त्र प्राप्तिको निम्ति जेल नेल र अनेकौं यातना भोग्नु भएको थियो ।

जहानियाँ राणाशासनको समुलअन्त्यगर्नको लागि नेपाली काँग्रेसमा आवद्ध भएर सङ्घर्ष गर्नुभयो । नेपाली काँग्रेसको उदयपुर जिल्ला उप–सभापति, सभापति हुँदै महासमिति सदस्य भएर राजनीतिक भूमिका निर्वाह गर्नुभयो ।

क्रान्तिका एक स्वतन्त्रता सेनानीका अलावा प्रखर युग सचेत सामाजिक अभियन्ताको रुपमा परिचित हुनुहुन्थ्यो । अन्याय, अत्याचार, शोषण,दमन, उत्पीडन, सामाजिक अन्धविश्वास, कुरीती, रुढीवाद, अनकौं खाले विभेदमा जकडिएको समाजलाई उत्थान गर्न एक जाग्रत पुरुषको रुपमा उहाँले आफूलाई समर्पित गर्नुभयो । आफ्नो मातृभूमिलाई मुटुमा उहाँका व्यक्तित्वका अनकौं बहुआयामिक पाटाहरुछन् । उहाँ २००७ सालको राखेर समाजसेवामा अहोरात्र जुटिरहने थापाको जीवन स्वयम् एक रहस्यको विषय बनेको छ ।

आफ्नो राष्ट्रमा कपडा नबनेसम्म लुगा नलगाउने र बोरा राडी ओढेर हिँड्ने थापाले स्वदेशमा नुनको उत्पादन नभएसम्म नुन खानु भएन । ८४ वर्षे जीवन वाँच्नु भएका थापाले आफ्नो जीवनको झण्डै ५७ वर्ष नुन नखाएका थापाले जीवनको मध्येकालमा आएपछि अन्न समेत त्याग गर्नु भएको थियो । देशप्रेमका खातिर मेची महाकाली तीनचोटी पैदलयात्रा गर्नुभएका थापाले समाजका दीनहीन, गरीव, अशक्त, अपाङ्गको सेवामा आफूलाई समर्पित गर्नु भयो ।