बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीत ‘तिमी जे बन उदाहरण बन’ बोलको गीत सार्वजनिक भएको छ । सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा प्रमोद खरेल र डा. त्रिशाला गुरुङको स्वर, मनोज खड्काको शब्द र कल्याण सिंहको संगीत रहेकाे छ ।

गीतको भिडियोको सम्पूर्ण काम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा निर्माण गरिएको छ । भिडियो नेपाल र अमेरिकाबाट एकै साथ रिलिज गरिएको छ । नेपाली सांगीतिक क्षेत्रमा सम्भवत पहिलोपटक निर्देशक नव ढुङ्गेलको कल्पनामा एआई एनिमेसनको प्रयोग गरेर यो गीतको भिडियो निर्माण गरिएको हो ।

गीतलाई शुभकामना दिँदै साहित्यकार, लेखक, समिक्षक तथा मदन पुरस्कार विजेता कृष्ण धराबासीले रध्र, कुची र कल्पनाले सुन्दर चित्र बनेजस्तै यो गीत शव्द, संगीत र स्वरको संगमले उत्कृष्ठ बनेको बताए । धराबासीले गीत रिलिज कार्यक्रममा आउनुअघि गीतलाई धेरै पटक सुनेको बताए । ‘यो गीतका हरेक हरफले एउटा निष्ठा र नैतिकताको अडान लिन्छ । बिर्सिसकेको संघर्ष र आदर्शको उठान गर्छ । यो भजन जस्तो पनि सुनिन्छ, बाल गीत जस्तो पनि लाग्छ । सबैभन्दा आनन्द आँखा चिम्म गरेर सुन्नुमा छ’, उनले भने ।

गीतले विद्यार्थीहरूलाई राम्रा बानी व्यवहार अपनाउन प्रोत्साहित गरेको छ । गीतले आफ्ना सन्तान प्राध्यापक, डाक्टर, इञ्जिनियर, पाईलट जस्ता निश्चित पेशामा लागेको देख्न रुचाउने परम्परागत सोच भन्दामाथि उठेर जे जस्तो काम, पेशा वा व्यवसायमा लागे पनि आफ्नो कार्यमा उत्कृष्ट हुने कोसिस गर्दै असल मान्छे बन्न प्रेरित गरेको छ ।

गीतकार खड्काले गायनमा गीतको समग्र भाव अनुसारकै गायकगायिका रोजिएको बताए । ‘गीतमा प्रमोद र डा. त्रिशालाको संयुक्त स्वरले बाबुआमा मिलेर आफ्नो सन्तानलाई सुमार्गमा लाग्न प्रेरणा दिएको अनुभूती गराउन खोजिएको छ’, उनले भने ।

गीतकार खड्काले आफ्नै युट्युव च्यानल ‘सङ्गराइटरमनोज’बाट गीत बजारमा ल्याएका हुन् ।