जगत्रदेवी साहित्य सङ्गम, गल्याङ, स्याङ्जाको आयोजनामा ‘काव्यकृति विमोचन, स्रष्टा सम्मान तथा काव्य गोष्ठी समारोह – २०८०’ सम्पन्न भएकाे छ । गल्याङ नगरपालिका – ३ स्थित गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा उक्त समारोह सम्पन्न भएको हो ।
जगत्रदेवी साहित्य सङ्गमका कार्यवाहक अध्यक्ष अग्रज कवि चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा भएको उक्त समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराई रहनुभएको थियो । विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा वरिष्ठ साहित्यकार डा. विप्लव ढकाल, वरिष्ठ गजलकार जीवनपानी, गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने, डा. पद्मा अर्यालको उपस्थिति रहेको थियो ।
समारोहमा अग्रज कवि चण्डिकाप्रसाद भट्टराईको पहिलो एकल कृतिको रूपमा प्रकाशित भएको कविता कृति “आँखीझ्याल”को विमोचन गरिएको थियो । विमोचन गरिएको कृतिको बारेमा समीक्षक जीवनपानी र डा. विप्लव ढकालले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।
जगत्रदेवी साहित्य सङ्गम परिवारको तर्फबाट स्थापना गरिएको ‘जगत्रदेवी साहित्य सम्मान – २०८०’ जगत्रदेवी साहित्य सङ्गमका संस्थापक अध्यक्ष अग्रज साहित्यकार सूर्यप्रसाद डुम्रेलाई समर्पण गरिएको थियो । सम्मानित व्यक्तित्वको बारेमा मिलन समीरले प्रकाश पारेका थिए ।
समारोहमा कविहरु हरिप्रसाद भट्टराई, लेखनाथ काफ्ले, वसन्त खनाल, भीम न्यौपाने, खगेन्द्रजङ्ग थापा, वसन्ती अधिकारी, कला पाठक, सिर्जना खनाल, प्रवेश अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, सुर्यप्रसाद डुम्रेद्वारा आफ्ना उत्कृष्ट कविता, गजल र मुक्तक रचनाहरु वाचन गरिएको थियो ।
समारोहमा स्वागत मन्तव्य लीलाबल्लव अर्यालले प्रस्तुत गरेका थिए भने सहजीकरण मिलन समीरले गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।