पोखरा । नेसनल प्याब्सन कास्कीको आयोजनामा एक दिने विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष एसइई परीक्षा दिने विद्यार्थीहरूलाई लक्षित गरी सो कार्यक्रम सम्पन्न गरिएको हो ।
एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीको समग्र क्षमता अभिवृद्धि होओस् भन्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा विद्यार्थीलाई प्रेरणापरक प्रस्तुति दिने कार्यको सहजीकरण वरिष्ठ प्रशिक्षक एवम् उत्प्रेरक देशराज दाहालले गरेका थिए । परीक्षा राम्रो गर्नका लागि बालबालिकाहरू मनोवैज्ञानिक रुपमा तयार रहनुपर्ने कुरामा विशेष जोड दिएका प्रशिक्षक दाहालले विद्यार्थीको मनोविज्ञानका विविध पक्षहरूलाई केन्द्रमा राखेर प्रस्तुति दिएका थिए ।
किशोरावस्थामा घरको वातावरण बिर्सेर आफ्ना रुचिका पछाडि दौडने विद्यार्थीलाई घरपरिवारको दुःख एवम् मिहिनेतको मूल्य बुझाउने कार्यबाट उनले आफ्नो प्रस्तुति थालनी गरेका थिए । विभिन्न हृदयस्पर्शी श्रव्यदृश्य सामग्रीसमेतको प्रयोग गर्दै उनले प्रस्तुति दिइरहँदा उपस्थित बालबालिकाको अनुहारमा गम्भीरता एवम् भावुकता स्पष्ट झल्कन्थ्यो । कुनै कुनै समयमा त उनले यस्तो प्रस्तुति दिए कि उपस्थित अधिकांश बालबालिकाका आँखाबाट आँसु झरिरहेका देखिन्थे भने धमाधम गोजीका रुमालहरू आँखा र गालामा दौडिरहेको दृश्य देख्न सकिन्थ्यो । यो दृश्यले उपस्थित कतिपय शिक्षक एवम् विद्यालय सञ्चालकहरू पनि निकै गम्भीर देखिएका थिए ।
उनले पढाइको महत्त्व, पढाइको अनिवार्यता अनि पढाइसँग परीक्षाको सम्बन्धलाई विभिन्न चरणमा प्रस्तुत गरेका थिए । एउटा व्यक्तिको क्षमता विकासमा समाजका विभिन्न पक्षहरू उत्तिकै जिम्मेवार रहने कुरालाई उनले हृदयस्पर्शी तरिकाले प्रष्ट्याएका गरेका थिए । कार्यक्रम सकिएपछि पोखरा सभागृहको हलबाट निस्केका अधिकांश विद्यार्थीमा भिन्नैखाले उत्साह र उमंग अनुभूत गर्न हुन्थ्यो । कार्यक्रमको समापनमा विद्यार्थीहरुले दाहालको पक्षमा गरेको हुटिङले नै कार्यक्रमको प्रभावकारिता मापन गर्न सकिन्थ्यो ।
नेसनल प्याब्सन, कास्कीअन्तर्गतका विद्यालयहरूमा कक्षा दसमा अध्ययनरत एसइई परीक्षाको तयारी गरिरहेका करिब १२०० विद्यार्थी र विद्यार्थीसँगै उपस्थित करिब १५० जना शिक्षक एवम् सञ्चालकहरूको उपस्थिति रहेको कार्यक्रम शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक अम्बिकाप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै आचार्यले नेसनल प्याब्सनले विद्यार्थीको सर्वपक्षीय विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको कुरा व्यक्त गरे । परीक्षा प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउने कार्यमा नेसनल प्याब्सन, कास्कीले उदाहरणीय कार्य गर्दै आएको र यो कार्यक्रमले विद्यार्थीलाई बोर्ड परीक्षामा मर्यादित तवरले प्रस्तुत हुन विशेष योगदान दिने बताए । यस प्रकारका विद्यार्थीकेन्द्रित कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा उपस्थित विद्यार्थी एवम् शिक्षकलाई खानालगायतको सम्पूर्ण व्यवस्थापन नेसनल प्याब्सन, कास्कीले गरेको थियो ।
कार्यक्रमका सभापति नेसनल प्याब्सन, कास्कीका अध्यक्ष हेमन्त अधिकारीले देशको शिक्षाको गुणस्तर कायम गर्न निजी शिक्षण संस्थाहरूको विशेष भूमिका रहेको बताए । साथै उनले यस कार्यक्रमले विद्यार्थीहरूमा विशेष ऊर्जा मिलेको कुरामा आफू विश्वस्त रहेको पनि उल्लेख गरे ।
सो अवसरमा उनले आगामी एसइई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थी र सम्बन्धित विद्यालयलाई संस्थाको तर्फबाट जनही ५०÷५० हजार पुरस्कार प्रदान गरिने घोषणा पनि गरे ।
नेसनल प्याब्सन कास्कीका सचिव प्रेमराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष एवम् यस कार्यक्रमका संयोजक मनकाजी गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।