श्रीपञ्चमीको अवसरमा ७९ औं स्रष्टा पदयात्रा कार्यक्रम सम्पन्न भएकाे छ । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका अवलोकन-भ्रमण गरी स्रष्टा पदयात्राले ७९ औँ यात्रा पूरा गरेकाे हाे ।

थानापति सेवा समाज तथा स्रष्टा पदयात्रा समूहको संयुक्त आयोजनामा काठमाडौंको सामाखुसी चोकमा भेला भई काफल डाँडासम्म रिजर्भ गाडीबाट र काफलडाँडाबाट पैदल हिँडेर शिवपुरी गाउँपालिकास्थित घट्टेकी माँ कन्या पञ्चकन्या देवीको स्रष्टाहरू दर्शन गरे । त्यसपछि सानु छहरे (कोप्ची झरना) र ठूले छहरे (लौकी झरना) को प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै थानापति दामचन्द्रमाला माताको समेत दर्शन गरी स्रष्टाहरूले करिब २० किलोमिटर बाटो पैदल तय गरेका हुन् ।

स्रष्टाहरूलाई काफल डाँडामा शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलिया तथा थानापति सेवा समाजका अध्यक्ष होमप्रसाद थपलियाले स्वागत गर्दै आ-आफ्नो संक्षिप्त मन्तव्य राखेका थिए भने स्रष्टाहरूलाई समाजका महासचिव पुरूषोत्तम थपलियाले आफ्नो अगुवाइमा भ्रमण गराएका थिए ।

शिवपुरी गाउँपालिका वडा नं ०८ स्थित थापागाउँमा स्रष्टाहरू अप्सरा ढकाल, रूवि सत्याल, एन.बि. जनकपुरी र वासुदेव गुरागाई ‘पिंडालु पण्डित’ले आ-आफ्ना रचना वाचन गरेका थिए भने थानापति दामचन्द्रमाला मन्दिर परिसरमा अनिता कोइराला तथा खोलाघरे साहिँलोले कविता वाचन तथा डा. बालचन्द्र मिश्रले बालन गाएका थिए ।

त्यसैगरी, स्थानीय बासिन्दाहरूले स्रष्टाहरूको स्वागत गर्दै बालन गाउँदै नृत्य गरेका थिए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद थपलियाले मन्दिर स्थापनाको बारेमा पौराणिक कुराको उल्लेख गर्दै स्रष्टाहरूको स्वागत गरेका थिए भने स्रष्टाहरूको पदयात्राबाट त्यस क्षेत्रको धार्मिक,साँस्कृतिक तथा पर्यटकीय क्षेत्रमा ठूलो सहयोग पुग्ने कुरामा आफू आश्वस्त रहेको बताए ।

पदयात्रामा स्रष्टाहरू शितल गिरी, वासुदेव गुरागाई ‘पिंडालु पण्डित’, विनोद नेपाल, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, अनिता कोइराला, त्रिभुवनचन्द्र वाग्ले, अप्सरा ढकाल, रूवि सत्याल, गोविन्द नेपाल, गङ्गाप्रसाद भेटवाल, वसन्त रिजाल, विमल अर्याल, खोलाघरे साहिँलो, एन.बि.जनकपुरी, वासुदेव ठकुरी, माधवलाल श्रेष्ठ, राधा नेपाल, शशि थापा पण्डित, प्रमोद स्नेही, सुभाष ढुङ्गेल, जयराम बिंडारी, शोभा पोखरेल, डा.बालचन्द्र मिश्र, नानीबहादुर अधिकारी, सुमन पुडासैनी ‘मित्र’लगायत स्थानीयबासिन्दाहरू समेतको सहभागिता रहेको थियो ।

पदयात्रामा सहभागी यात्रीहरूको खानपिनको व्यवस्थापन थानापति सेवा समाज तथा स्थानीय बासिन्दाको आतिथ्यमा भएको थियो भने गाडीको बन्दोवस्त पदयात्रीहरू आफैले तिरेका थिए ।