महिलावादी स्मृतिको एक पहलको एक सफलता हो – “सार्वजनिक जीवनमा महिला” । यो नेपालमा महिलावादी सोच र इतिहासको परिदृश्य हो । यसमा नेपालमा महिलावादी अनुभवको विविधताको अभिलेख तथा नेपालमा महिलाबादी आन्दोलन निर्माणमा संलग्न सम्पूर्ण व्यक्तिहरूबारे साबितीको रूपमा भएको छ ।
५ सय ३८ पृष्ठमा मौलाएको यस पुस्तकलाई ‘जनताका माझ महिला, टुकीको उज्यालोमा पढ्दै, महिलाका रचना, महिलाका लागि महिला, संसार डुल्दा, प्रबन्धक संवाद, अनुक्रमणिका’ गरी ७ खण्डमा विभाजन गरिएको छ । र योगदानकर्ताहरूको नामावली समेत समावेश छन् ।

सार्वजनिक जीवनमा महिला
पुस्तकको कभर पृष्ठमा लेखिएको छ, “आमवृत्तमा आफ्नो उपस्थिति जनाउनु भनेको इतिहासमा देखिनु र गनिनु हो । घरेलु जीवनको सङ्कुचनबाट सार्वजनिक जीवनको फराकिलोपनसम्मको यात्रा बेनाम अँध्यारोबाट स्मृतिको उज्ज्यालोतर्फ जानु हो । सार्वजनिक जीवनमा महिला मा महिला अभिलेख निर्माण गर्ने नेपाल पिक्चर लाइब्रेरीको पहलको क्रममा सङ्कलन गरिएका सामग्री सामेल छन् । धेरै खण्डसहितको प्रदर्शनीको रूपमा तयार गरिएको यस कृतिले नेपाली महिला समुदायलाई एकै पटकमा सार्वजनिक स्मृतिमा ल्याउने प्रयत्न गरेको छ । यस कृतिमा विगतमा महिलाहरूले राजनीतिक सङ्घर्षमा सहभागी हुँदा, सभाहरूलाई सम्बोधन गर्दा, शिक्षामार्फत् नयाँ बाटो पहिल्याउँदा, विचार प्रकाशित गर्दै प्रभावित पार्दा, संसार डुल्दै त्यसको वणर्न गर्दा, अधिकारसम्पन्न व्यक्ति बन्दा, सामाजिक बन्देज तोड्दा र आदर्श नकार्दाका झलक देखिन्छन् । नेपालमा आमवृत्तमा सशक्त हस्तक्षेप आफैँमा कसरी महिलावादी प्रमुख रणनीतिको रूपमा स्थापित भएको छ भन्ने यथार्थ यसमा देखिन्छ ।”
प्रबन्ध संवादमा नयनतारा गुरुङ पक्षपति लेख्छिन्, “हाल प्रचलित नवउदारवादी मार्काको महिलावाद समस्याले ग्रस्त छ भन्ने म पनि स्विकार्छु—यसले महिलावादी विचारलाई दुई–चार बुँदामा सीमित राख्न खोज्छ, किनभने यसले व्यक्तिगत सफलता तथा उत्पादकत्व र तिमीले भने झैँ ’प्रगति’ बारे अवधारणाहरूमाथि धेरै जोड दिन्छ । एफएमपीले महिलावादी इतिहासको सकारात्मक समीक्षा मात्रै गरिरहेको छैन बरु अतितबारे आलोचनात्मक आँकलन पनि गर्दैछ भन्नेबारे हामीबीच पहिले पनि छलफल भएकै हो । एफएमपीमा काम गर्न पाएर अहिलेको नेपालमा महिलावादी परिस्थितिबारे पहिलेभन्दा धेरै सूक्ष्म बुझाइ निर्माण गर्न मलाई सघाउ पुगेको छ । र म यसकालागि धेरै नै कृतज्ञ पनि छु । आफू अघिका पुस्ताका महिलावादीहरू कस्ता सामाजिक, राजनीतिक, आर्थिक तथा वैयक्तिक सन्दर्भमा सोच्दै र सक्रिय हुँदै थिए भन्नेबारे सिक्न पाउनुले हामीले छिचोलिरहेको अहिलेको अत्यन्तै भिन्न सन्दर्भहरूलाई बुझ्न पनि मदत गर्छ ।”
यो फोटो संग्रहलाई नेपाल पिक्चर लाइब्रेरी फोटो.सर्कलद्वारा संचालन गरिएको हो ।