दाङ / राप्ती अञ्चलकै पहिलो सर्वोदय पुस्तकालय तथा वाचनालयमा स्थापना भएको “बौद्धिक प्रतिभा पुरस्कार” राप्ती साहित्य परिषद्का अध्यक्ष तथा वरिष्ठ साहित्यकार डा. टीकाराम उदासीलाई प्रदान गरिएको छ ।
सरस्वती पूजा तथा राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर सर्वोदय पुस्तकायल तथा वाचनालय घोराहीले एक कार्यक्रमका बीच साहित्यकार उदासीलाई पुरस्कार प्रदान गरेको थियो ।
सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा वरिष्ठ पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङले स्थापना गरेको वौद्धिक प्रतिभा पुरस्कारको अक्षयकोषबाट पहिलो पटक साहित्यकार उदासीलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा पुरस्कृत साहित्यकार डा. उदासीको बारेमा जानकारी दिँदै साहित्यकार पदमप्रसाद शर्माले रोल्पामा जन्मिएका उदासी साहित्यिक क्षेत्र र शिक्षा क्षेत्रका अब्बल प्रतिभा भएको बताउनु भयो । कार्यक्रममा राप्ती साहित्य परिषदका निवर्तमान केन्द्रीय अध्यक्ष पुरुषोलम खनाल, पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङका अध्यक्ष केशव सुवेदी, साहित्यकारहरू कमलमणि देवकोटा, हेमलाल पन्थी, खगराज न्यौपाने लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको सहजीकरण पत्रकार डा. सुदीप गौतमले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 








