सूर्तीजन्य उत्पादक कम्पनीको मुख्य प्रयोजनमा हुन लागेको नेपाल लिटरेचर फेस्टिभल २०२४ प्रति नेपाल विकास अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाले आपत्ति जनाएका छन् । यी संस्थाले एक विज्ञप्ति जारी गर्दै आयोजक संस्था बुकवार्म फाउण्डेसनको ध्यानाकर्षण गराएको छ ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. जयकुमार गुरुङ र नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव दीपेन्द्र बान्तवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सूर्तीजन्य पदार्थको उत्पादक कम्पनी सूर्य नेपालको प्रचारप्रसार गरिएको छ, जुन कानुनविपरीत छ । त्यसैले यस कार्यक्रमका आयोजक संस्था बुकवार्म फाउन्डेसनलाई कानूनविपरीत कार्य नगर्नु हुन ध्यानाकर्षण गराउँदछौं । साथै सहभागीहरुलाई पनि कानूनतर्फ ध्यानाकर्षण गर्दै कानूनविपरीत सहभागी नहुन अपिल गर्दछौं ।’
विज्ञप्तिमा भनिएको छ, ‘आयोजकले फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरुलाई सहभागी गराउने भनी प्रचार गरिएको छ । कानून कार्यन्वनयमा प्रत्यक्ष सरोकार राख्ने व्यक्तित्वहरुले नै कानूनको कार्यान्वयन नगरी धज्जी उडाउनु विडम्बना हो ।’
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सूर्य नेपाल आमनेसामने
आजभन्दा १० सालपहिले, २०७० साल पुसमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सूर्य नेपाल फेरि आमनेसामने भएका थिए । मुख्य मुद्दा सूर्तिजन्य पदार्थको बेचबिखन, प्याकेजिङ तथा विज्ञानपनलगायतको रहेको थियो । उक्त मुद्दामा आदेश (परामादेशसहित) गर्ने न्यायाधीश कल्याण श्रेष्ण थिए भने विपक्षीमध्येको प्रमुख एक सूर्य नेपाल रहेको थियो ।
बुकवार्म पाउण्डेसनको आयोजना ‘नेपाल लिटरेचर फेस्टिभल २०२४’ भोलि (फागुन ३ गते, बिहीबारबाट) पोखरामा सुरू हुँदैछ । फागुन ७ गतेसम्म चल्ने सम्भवत नेपालकै प्रतिष्ठित र ठुलो यो साहित्य महोत्सवको मूख्य प्रायोजक सूर्य नेपाल प्रा.लि. रहेको छ । र, महोत्सवमै पूर्व-प्रधानन्यायधीश कल्याण श्रेष्ठले ‘संविधान र सुशासन’ सत्रअन्तर्गत नेपालको संविधान र सुशासनमा केन्द्रित विद्वत प्रवचन दिनेछन् ।
महोत्सवमा ५० बढी सेसन छन्, त्यसमध्ये उद्घाटन सत्र पछिको पहिलो सेसन कल्याण श्रेष्ठले प्रवचन दिने ‘संविधान र सुशासन’कै हो । तर यहाँ यो सेसनको मात्र उल्लेख गर्नुमा चाहिँ प्रमुख प्रायोजक सूर्य नेपालसँगको सम्बन्ध रहेको छ ।
सूर्य नेपालले नेपालमा सूर्तिजन्य पदार्थ ‘सूर्य चुरोट’को उत्पादन तथा वितरक हो । नेपालमा सूर्तिजन्य पदार्थको विज्ञापन गर्न रोक लगाइएको छ । र, त्यो रोक लगाने निर्णयलाई संवैधानिक रूपमा अन्तिम निर्णय दिने काम कल्याण श्रेष्ठले गरेका हुन् । अझ प्रस्ट रूपमा भन्दा, . ‘नेपालको अन्तरिम संविधान, २०६३’ को धारा ३२ र १०७(२) अनुसार परमादेश र प्रतिषेधलगायतको आदेश जारी गरी पाउँ भनी अदालतमा परेको रिट निवेदनमा कल्याण श्रेष्ठले २०७० साल पुस १४ मा दिएको आदेशमा उल्लेख छ, ‘ऐनको दफा १० मा उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफ.एम, इन्टरनेट, इमेल जस्ता विद्युतिय सञ्चारमाध्यम, अन्तरक्रिया कार्यक्रम, होडिङ्ग बोर्ड, भित्ते लेखन, लोगो, संकेत, लेख, दृष्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सुर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्पे्रषण वा प्रयोजन गर्न नपाउने व्यवस्था गरेको छ ।’
त्यसै, सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २२ मा संस्थागत सामाजिक उत्तरदायित्वको नाममा काम गर्न नपाउने कुरा स्पष्ट उल्लेख गरिएको छ । जसको उपदफा २ र ८ मा भनिएको छ, ‘सरकारी वा गैरसरकारी वा निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्संग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राविधिक, भौतिक, संरचनागत तथा अन्य कुनै पनि प्रकारको सहयोग उत्पादकलगायतले गर्न पाउने छैन । कसैले पनि उत्पादकलगायतले प्रदान गर्ने आर्थिक, भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउने छैन । उत्पादकलगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन ।’
साथै सार्वजनिक व्यक्तित्वहरुले पनि यस्ता सूर्तीजन्य उद्योगबाट प्रायोजित बैठक, भ्रमण, तालिम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रममा सहभागिता स्वीकार गर्न नहुने २०७१ को निर्देशिकाले उल्लेख गरेको छ ।
नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२९ जना अर्थात् प्रतिघण्टा ४ जनाले ज्यान गुमाइरहेका छन् । जुन संख्याले नेपालको जम्मा मृत्युको १९.४१ प्रतिशत ओगट्छ । सूर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने रोगहरु जस्तै क्यान्सर, स्वासप्रश्वाससम्बन्धी रोगहरुलगायत विभिन्न र फोक्सोसम्बन्धी रोगहरु लाग्ने गरेको छ ।
नेपाल लिटरेचर फेस्टिभल’ले आफ्नो फेसबुक हेण्डलमा कल्याण श्रेष्ठको तस्बिरसहित ब्यानर सेयर गर्दै लेखेको छ, ‘सक्षम एवम् स्वच्छ छविका श्रेष्ठ पूर्वप्रधानन्यायाधीश हुनुहुन्छ । आफ्नो कार्यकालमा श्रेष्ठले सङ्क्रमणकालीन न्याय, लैङ्गिक समानता र नागरिकको सामाजिक–आर्थिक अधिकारको पक्षमा वकालत गर्नुभएको थियो । नेपालको न्यायिक इतिहासमा उहाँको कार्यकाललाई विशेष स्मरणीय मानिन्छ ।’ अरू जस्तै उक्त ब्यानरको सबैभन्दा माथि सूर्य नेपालको लोगो छ । प्रश्नचाहिँ यो छ कि, श्रेष्ठले सूर्य नेपालको लोगोलाई कुन रूपमा लेलान् ? एक प्रा.लि.का रूपमा स्वीकारेर सहज होलान् वा उसका उत्पादनका बारेमा उसैविरूद्ध गरिएका आदेश पनि सम्झेलान् ?
पूर्ण आदेश यहाँ पढ्नुहोस्ः नेपाल कानून पत्रिका (nkp.gov.np)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।