‘गुणनिधि पन्त स्मृति पुरस्कार २०८०’ बाट इतिहासविद् डा. दिनेशराज पन्त तथा ‘धनलक्ष्मी पन्त स्मृति पुरस्कार २०८०’ बाट साहित्यकार गीता केशरी पुरस्कृत हुनुभएको छ । गुणनिधि धनलक्ष्मी पन्त स्मृति प्रतिष्ठानद्वारा सुकेधारास्थित नवदूर्गा भेन्यूमा आयोजित एक कार्यक्रमका बिच स्रष्टाद्वयलाई उक्त पुरस्कारले सम्मान गरिएकाे हाे ।

प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद पन्तको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा अध्यक्ष विष्णुप्रसाद पन्तका स्वर्गीय माता पिताको नाउँमा स्थापित उक्त पुरस्कार डा. दिनेशराज पन्त र गीता केशरीलाई प्रदान गरिएको हो।

दुबै पुरस्कारको राशि १५ हजार रूपियाँका साथमा ताम्रपत्र रहेकाे छ ।

मातापिताको नाउँमा पुरस्कार स्थापना गरी नेपाली भाषा,साहित्य र अन्य क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूलाई पुरस्कृत गरी सम्मान गर्ने संस्था गुणनिधि धनलक्ष्मी पन्त स्मृति प्रतिष्ठानप्रति आभार प्रकट गर्दै प्रमुख अतिथि बैरागी काइँलाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरूबाट पनि आ-आफ्नो मन्तव्य राखेका थिए भने पुरस्कार प्रदान गर्ने संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए।

मन्तव्यका क्रममा डा. दिनेशराज पन्तले इतिहासका कुरा उठाएका थिए भने साहित्यकार गीताकेशरीले साहित्य साधकहरूले निरन्तर लेखिरहनु पर्ने सुझाव समेत दिएकी थिइन्।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष डा.शैलेन्दुप्रकाश नेपालले पुरस्कृत व्यक्तित्वहरूको संक्षिप्त परिचय सहित कृतिहरूका बारेमा प्रकाश पारेका थिए।
साहित्यिक पृष्ठभूमिबाट आएकी र साहित्यिक वातावरणमा हुर्किएकी स्रष्टा गीता केशरीले २०२१ सालदेखि हालसम्म लेखन कार्यमा निरन्तर सक्रिय रहँदै आएको र उनको १४ वटा उपन्यास र थुप्रै बालकथा,कथा र कविता सङ्ग्रह प्रकाशित भइसकेको बताए।

त्यसैगरी,उनले इतिहासविद् दिनेशराज पन्तका बारेमा बोल्दै पन्त शिक्षा,सँस्कृति र इतिहासको अनुसन्धान र अन्वेषणमा समर्पित रहेको र हालसम्म उनको २७ वटा कृतिहरू प्रकाशित भएको कुरा बताए।

समारोहमा साहित्यकार विष्णुप्रसाद पन्तद्वारा रचित ‘मनोभाव’ काव्यको लोकार्पण समेत गरियो।

मञ्चमा आसीन व्यक्तित्वहरू बैरागी काइँला, डा.दिनेशराज पन्त,गीता केशरी,डा.शैलेन्दुप्रकाश नेपाल,ठाकुर शर्मा भण्डारी प्रयागराज भट्टराई वाशिष्ठ,युवराज मैनाली,हरिभक्त सिग्देल तथा लेखक समेतले सामूहिक रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।

समालोचक प्रयागराज भट्टराई’वाशिष्ठ’ले लोकार्पण भएको काव्य ‘मनोभाव’को बारेमा संक्षिप्त समीक्षात्मक टिप्पणी गर्दै स्रष्टा विष्णुप्रसाद पन्तको कृतित्व तथा व्यक्तित्वमाथि प्रकाश पारेका थिए।

‘मनोभाव’ काव्यका रचयिता विष्णुप्रसाद पन्तले आफ्नो लेखकीय मन्तव्यमा आफू मातापिताको प्रेरणाबाट साहित्य क्षेत्रमा लागेको कुरा बताए। स्रष्टा पन्तको यो बाह्रौँ कृति हो।आजै उनको ७४ औँ जन्मोत्सव पनि साहित्यकारहरूको समुपस्थितिमा मनाइयो।

पुस्तकको भूमिका लेखक समेत रहेका समालोचकद्वय ठाकुर शर्मा भण्डारी र युवराज मैनाली तथा आध्यात्मिक कवि हरिभक्त सिग्देलले पनि कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा साहित्यकारहरू नरेन्द्रराज पौडेल,रामप्रसाद पन्त, डा.रामप्रसाद दाहाल,विजयध्वज थापा,दिव्य गिरी,प्रल्हाद पोखरेल,कलानिधि दाहाल,सुभाषचन्द्र पौडेल’भीमफेदीया’, शेखर ढुङ्गेल,दुर्गाप्रसाद भँवरकोटी,वासुदेव गुरागाई’पिंडालु पण्डित’,विनोद नेपाल,गोपी मैनाली,सानुराजा श्रेष्ठ’अन्जान,’ विष्णुप्रसाद पराजुली,एन.बि.जनकपुरी,महेश रिजाल,निर्मल रमण पराजुली,गङ्गा भेटवाल,ध्रुवनारायण जोन्छे लगायत लेखकका परिवारका सदस्यहरू समेतको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष चन्द्रप्रसाद पन्तले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव डा. विष्णुकुमार खत्रीले गरेका थिए।