माधव पोखरेल, बर्दिवास । प्रगतिशील लेखक संघ नेपाल मधेश प्रदेशकोे दोश्रो प्रदेश सम्मेलन शनिबार नयाा नेतृत्व चयन गर्दै समापन भएको छ ।

महोतरी जिल्लाको बर्दिबास स्थित बर्दिबास उद्योग वाणिज्य संघको सभाहलमा भएको सो भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् प्रलेस नेपालका केन्द्रीय महासचिव डा. देवी दुलाल क्षेत्रीले माक्र्सवादी सौन्दर्य चिन्तनलाई आधार बनाएर प्रगतिशील लेखन अघि बढेको बताउनुभयो । यसलाई अझ प्रभावकारी रुपले अघि बढाउन स्रष्टाहरुले जनताका कुरालाई प्राथमिकतामा राखे कलम चलाउनु पर्ने कुरामा उहाँकाे जोड थियो ।

प्रलेस केन्द्रीय समितिका महासचिव समेत रहनुभएका डा. दुलालले वर्गीय चिन्तनका कुरा आए पनि जनतामा यतिबेला निराशा छाएकाले समाज परिवर्तनकालागि र समाजलाई समाजवाद उन्मुख बनाउन लेखकहरको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

सो कार्यक्रममा विशिष्ठ अतिथि मधेश प्रदेशसभा सदस्य माननीय शारदा थापाले संस्था चलाउन सहज नभएको तर संथमा पद ओगटेर काम केही नगर्ने प्रवृति हावी भएकोले त्यसमा लेखकहरुले सुधार गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

बर्दिवास नगरपालिकाकी उपमेयर सुनिता सिं बुढाथोकीले लेखक साहित्यकारहरुले धेरै कुरा लेख्न बाँकी रहेको र समाजलाई नयाँ बाटोमा लैजान समाजको उन्नति प्रगतिका लागि बाटो देखाउने तरिकाले लेख्नु आजको आवश्यकता भएको बताउनुभयो ।

प्रलेसकी केन्द्रीय सदस्य पार्वती राउतको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रम प्रलेस केन्द्रीय उपमहासचिव तथा प्रलेसका मधेश प्रदेश इन्चार्ज बालमुकुन्द कार्कीको अध्यक्षता तथा प्रलेस महोतरीका सचिव भीमकुमार राउतको सञ्चालनमा भएको सो कार्यक्रममा मधेश प्रदेशसभाका प्रदेशसभा सदस्य शारदा थापा, बर्दिबास नगरपालिकाकी उपप्रमुख सुनिता सिं बुढाथोकी, प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रे, केन्द्रीय सदस्यहरु बोधकुमार घिमिरे, पार्वती राउत थापा, र प्रलेस राष्टिय परिषद् सदस्य प्रेम घिमिरे, भारतको सितामाढी क्षेत्रका जनवादी लेखक महम्मद कमरुद्दिन नदाफ, प्रलेसका केन्द्रीय सदस्य जीवन स्पर्शी, बर्दिवास उद्योग वाणिज्य संघका महासचिव उत्तमकुमार श्रेष्ठ, रुद्रसिं विश्वकर्मालगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिनुभएकाे थियो ।

सो सम्मेलनले ३९ सदस्यीय प्रदेश कार्यसमिति गठन गर्नुपर्नेमा पछि सदस्यहरु थप गर्ने गरी हाल नारायण घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन गरेको छ । समितिमा महिला उपाध्यक्षमा धनुषाबाट किरण झा, अर्का उपाध्यक्षमा रुद्रसेन विश्वकर्मा, सचिवमा भीमकुमार राउत, सहसचिवमा सर्लाहीबाट मीना देवकोटा, कोषाध्यक्षमा फुलगेन महतो रहेका छन् भने अन्य ७ जना सदस्यहरू रहेका छन् ।।