चितवन । ‘सारस्वत रत्न पुरस्कार’बाट प्रा.डा. कृष्णप्रसाद पौडेल सम्मानित भएका छन् । चितवनकाे रत्ननगर नगरपालिकाबाट प्रकाशित सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने ‘सारस्वत रत्न पुरस्कार-२०८०’ डाक्टर पौडेलद्वारा लिखित `लय छुटेको समय´लाई प्रदान गरिएको हो ।

रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले डाक्टर पौडेललाई नगर ३० हजार रुपैयाँ र सम्मानपत्रद्वारा सम्मानित गरेका हुन् । प्रतिष्ठानले रत्ननगर नगरपालिकाका स्रस्टाले सिर्जना गरेका तथा प्रकाशन गरेका कृतिलाई पुरस्कार उक्त पुरस्कार प्रदान गर्ने योजना अनुसार आह्वान गरेको थियो ।

प्राप्त भएका कृतिमध्ये पौडेलको उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय पुरस्कार निर्णायक समितिले गत पुस महिनामा गरेको थियो ।

पौडेलका यसअघि ‘खुसीहरूको वनवास’ कवितासङ्ग्रह र ‘कम्मरीदेखि कोभिड कहर’ (हाडजोर्नी, नसा र स्वास्थ्यसम्बन्धी जानकारी) पुस्तक प्रकाशित छन् । लय छुटेको समय डाक्टर पौडेलको संस्मरण हो । यसमा बिरामी र डाक्टरका भोगाइहरू समेटिएका छन् ।

डाक्टर पौडेल अर्थोपेडिक विषयका प्राध्यापक हुन् । अर्थोपेडिक र स्पाइनल सर्जन उनी भरतपुर अस्पतालमा कार्यरत छन् । उनी उक्त अस्पतालमा २ पटक मेडिकल सुपरिटेन्डेन्ट पदमा रहेर काम गरिसकेका छन् ।

कार्यक्रममा सम्मानित स्रस्टाको व्यक्तित्व र कृतित्वका बारेमा रत्ननगर वाङ्मय प्रतिष्ठानका सदस्य तथा शहीद स्मृति बहुमुखी क्याम्पसका सहप्राध्यापक लक्ष्मण अर्यालले प्रकाश पारेका थिए । कार्यक्रमको दोस्रो चरणमा विभिन्न स्रस्टाले रचनावाचन गरेका सो कार्यक्रमलाई राजेन्द्र हमाल र कमल अर्यालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा पौडेलका मातापिता कपिलामणि र तुलसी पौडेल पनि सहभागी थिए ।