
मुक्तिनाथ दर्शन साहित्य समाजले गजल विद्वच्छिरोमणि घनश्याम परिश्रमीलगायतका स्रष्टाहरूलाई सम्मान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समाजको तेस्रो स्थापना दिवस एवं स्रष्टा सम्मान कार्यक्रममा परिश्रमीलाई ‘जीवनाथ साहित्य उद्वोधन’बाट सम्मानित गरिएको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ साहित्यकार गोपी मैनालीले नगद पुरस्कारसहित सम्मान गरेका थिए ।
त्यस्तै, वरिष्ठ पत्रकार गान्धीराज काफ्लेलाई ‘शेरबहादुर स्मृति पत्रकारिता सम्मान’, मुक्तककार सुनिल अधिकारीलाई ‘खड्गध्वज–गंगादेवी स्मृति सम्मान’, चार वेदका अनुवादक तीलकप्रसाद लुुइँटेललाई (मरणोपरान्त) ‘तुजाखग स्मृति सम्मान’, लघुकथाकार राजन सिलवाललाई ‘पद्यदीपा पौडेल स्मृति सम्मान’, लघुकथाकार ममता मृदुललाई ‘हरिभक्त सिग्देल ‘महेश’ प्रतिभा’बाट सम्मान गरिएको थियो ।
कवि अम्बिका भण्डारीलाई ‘खड्गबादुर स्मृति स्ममान’, कोपिला अभियन्ता गिरिराज डल्लाकोटीलाई ‘जीवनाथ जमरकट्टेल स्मृति सम्मान’, बालप्रतिभा चक्षु भट्टराईलाई ‘मीना सिग्देल बालप्रतिभा सम्मान’, गजलकार देवी पन्थीलाई ‘दीनानाथ देवकुमारी स्मृति सम्मान’, सुसेली अभियन्ता दुर्गा अधिकारी भभरकोटेलाई ‘टीकाप्रसाद नारायणी सम्मान’बाट सम्मानित गरिएकाे थियो ।
त्यसैगरी, सोही कार्यक्रममा पत्रकार विनोद दाहाल ‘वत्स’लाई ‘आनन्ददेव भट्ट स्मृति साहित्यिक पत्रकारिता सम्मान’, देववेदाङ्ग विद्याश्रम वनकालीलाई ‘मीना खरेल स्मृति सनातन धर्मसम्वर्धन सम्मान’, प्रा. पं. देवराज उपाध्यायलाई ‘रामप्रसाद रुद्रकमारी स्मृति सनातन वैदिक धर्म संरक्षण सम्मान’, महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई ‘हरिराज हरिप्रिया स्मृति साहित्य सम्मान’, कथाकार विजयध्वज थापालाई ‘सूर्यबहादुर विष्णुकमारी साहित्य उन्नयन सम्मान’, वरिष्ठ कथाकार बाजुराम पौडेललाई ‘महेश्वरलाल शारदा स्मृति साहित्य सम्मान’ र मुक्तककार मदन नेपाललाई ‘मनोरञ्जनरमण साहित्य उन्ननयन सम्मान’ अर्पण गरिएको थियो ।
सम्मानित सबै स्रष्टालाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष वरिष्ठ कवि कलानिधि दाहालको सभापतित्वमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा समाजका सल्लाहकार प्राडा. अर्जुनदेव भट्टले स्वागत मन्तव्य राखेका थिए भने बटुकहरूले वेदोच्चरणसाथ स्वस्ति वाचन गरेका थिए ।
समाजका संरक्षक एवं एक मात्र आध्यात्मिक चिन्तन अभियन्ता हरिभक्त सिग्देल ‘महेश’ले सम्मानित व्यक्तित्वहरूको योगदानका विषयमा संक्षिप्त प्रकाश पारेका थिए भने वरिष्ठ समालोचक तथा लघुकथाका विशिष्ट साधक युवराज मैनालीले समाज र साहित्य अभियानका विषयमा विश्लेषण गरेका थिए ।
सम्मानित हुने स्रष्टाहरूका तर्फबाट घनश्याम परिश्रमी, दुर्गा भभरकोटे, बाजुराम पौडेल र बालप्रतिभा चक्षु भट्टराईले आ-आफ्नो मन्तव्य राखेका थिए ।
समारोहमा सुसेली अभियन्ता दुर्गा भभरकोटेले उत्कृष्ट एक सुसेली सर्जकलाई वार्षिक रुपमा प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएका थिए । साथै उनले समाजका अध्यक्ष कलानिधि दाहाललाई ५० हजारको चेकसमेत हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोपी मैनालीले नेपाली साहित्य र विश्व साहित्यको प्रवृत्ति विश्लेषण गरेका थिए । साथै समाजले स्रष्टालाई सम्मान गरेर आफ्नो उचाइ बढाएको प्रति उनले खुसी व्यक्त गरे । सम्मानित स्रष्टाहरूलाई आगामी दिनमा पाठकको स्वाद र कलाको सिद्धान्तमा रहेर गहकिला सिर्जना गर्न पनि मैनालीले आग्रह गरेका थिए ।
भैरवी भूगोलले सञ्चालन गरेको कार्यक्रममा मुक्तककार निर्मल पराजुली, सुशीला शर्मा, महेशप्रसाद रिजाललगायतका स्रष्टाहरूले आफ्नो सिर्जना वाचन गरेका थिए ।
कार्यक्रममा वरिष्ठ नियात्राकार रामप्रसाद पन्त, वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारी, प्राडा प्रयागराज वाशिष्ठ, साहित्यकार विष्णु पन्त, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार निर्मल पराजुली, कल्पना दाहाल, पार्वती अधिकारी, विन्दु अधिकारीलगायत साहित्यकारहरूको उपस्थिति थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

