पेन नेपालको आयोजनामा शनिवार कविता गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा डा. बमबहादुर थापा जिताली, डा. शुष्मा आचार्य, डा. मित्रवन्धु पौडेल, डा. टंक उप्रेती, श्रीराम सिंह बस्नेत, भीष्म उप्रेती, शिरोमणि दवाडी, लालबहादुर भुजेल, गङ्गा लिगल, टेकबहादुर लौडारी, रुपसिंह भण्डारी, सुष्मा चित्रकार, सुवाससिंह पराजुली, तीर्थराज भट्ट, खुस्बु रिजाल, उत्तम विचार, मातृका पौडेल, समृद्धि पोखरेल, सुशीला शर्मा धमला, राजेन्द्रप्रसाद भट्टलगायतका कविहरूले समसामयिक राजनीतिक बेथितिप्रति व्यङ्ग्य गरिएका कविताका साथमा प्रकृति, पर्यावरण, अध्यात्म तथा प्रेममय गद्य तथा पद्य कविताहरू प्रस्तुत गरे ।

प्रस्तुत कविताहरूको समीक्षा गर्दै पेन नेपालकी उपाध्यक्ष डा. सुष्मा आचार्यले विश्व परिवेशमा साहित्यले कुन रुप लिइरहेको छ त्यसमा अध्ययन गरेर समयको माग र पाठकको रुचिलाई विचार गरेर कलम चलाउन युवा साहित्यकारलाई सुझाव दिइन् । अबको समयमा निराशा होइन आशा र सम्भावनाको कुरालाई साहित्यकारहरूले उठाउनुपर्ने उनले बताइन् ।

विभिन्न सयभन्दा बढी देशहरूमा च्याप्टर रहेको लेखक तथा साहित्यकारहरूको अन्तर्राष्ट्रिय सञ्जालको रुपमा क्रियाशील पेन इन्टर्नेशनलको नेपाल च्याप्टर पेन नेपालले साहित्य अन्तरक्रिया, गोष्ठी तथा भाषा साहित्यका विषयमा अनुसन्धान तथा पुस्तक प्रकाशन गर्दै आएको छ।