कविता बारेको नेपालको पहिलो टेलिभिजन रियालिटी शो ‘द पोएट आइडलः सिजन २’को औपचारिक घोषणा भएको छ । बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा शो आगामी सोमबारदेखि प्रसारण हुने घोषणा गरिएकाे हाे ।
हिमालय टिभीमा यो कार्यक्रम प्रत्येक सोमबार र मङ्गलबार राती ९ बजेदेखि प्रसारण हुनेछ । वात्सल्य नेचुरल शीर्ष प्रायोजकको रूपमा रहने भएको छ । सो पत्रकार सम्मेलनमा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौतासमेत गरे ।
सम्मेलनमा निर्णायकका रूपमा पोएट आइडल भित्र्यिएकी अभिनेत्री केकी अधिकारीलाई पत्रकारहरूले कविता रियालिटी शोको निर्णायक बनाइएको बारे सामाजिक सञ्जालमा भएका टिप्पणीबारे प्रश्न सोधेका थिए । जसमा केकी र निर्देशक अधिकारी सन्तुलित रूपमा प्रस्तुत भए ।
केकीले फिल्म अभिनेत्रीको रुपमा कला र साहित्यप्रति आफ्नो पनि जिम्मेवारी हुने बताइन् । उनले सबैको धारणालाई सम्मान गर्नेसमेत बताइन् । उनले भनिन्, ‘जे हुन्छ राम्रैको लागि हुन्छ । म सबैको विचारलाई सम्मान गर्छु । म कला क्षेत्रमा किन छु भन्दा, यहाँ आफूलाई लागेको कुरा मजाले अभिव्यक्त गर्न सकिन्छ । म ओपनियनलाई एकदमै शिरोधार्य गर्न सक्ने व्यक्ति पनि हुँ । सायद अभिनयसँग सम्बन्धित रियालिटी शो आउँदै गरेको भए हामीले मध्ये कसैले त्यो प्रश्न राख्थ्यो कि !’
निर्देशक अधिकारीले केकीले निर्णायकको रूपमा सम्पूर्ण दर्शकहरूकाे प्रतिनिधित्व गर्दै पोएट आइडललाई न्याय गर्ने बताए । यो शो लेखनमा मात्र आधारित नरहेको अमनको भनाई थियो । उनले भने, ‘मलाई लाग्छ, अहिले कविता दुई कोर्समा छ । पहिलो लेख्ने र दोस्रो प्रस्तुत (पर्फम) गर्ने । पोएट आइडल लेख्नेमात्र होइन, प्रस्तुत गर्ने मञ्ज हाे ।’
अमनले दोस्रो सिजनमा जम्मा एपिसोड सङ्ख्या ३० हुने जनाए । ‘पछिल्लो सिजनमा ३३ एपिसोड बनाउँदाको महसुस गर्दा अडिसन राउण्ड लामो भएछ । अडिसन राउण्ड ६ बाट कटाएर ३ मा ल्याएका छौं । अब ३० एपिसोड हुन्छ । यो प्रमुख चेन्ज हो ।’ उनले फम्र्याटबारे भने ।
उक्त अवसरमा जज तथा कवि विप्लव प्रतीकको जन्मदिन पनि सेलिब्रेट गरिएको थियो । सिजन २ लाई अभिनेता समेत रहेका दिव्यदेवले होस्ट गर्नेछन् । जजमा उपेन्द्र सुब्बा र अनुप बराल पनि हुनेछन् ।
‘द पोएट आइडल’काे साहित्यिक पार्टनर साहित्यपोस्ट (इ) दैनिक रहेकाे छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।