नाट्य सम्राट बालकृष्ण समको हिजो १२२ औं जन्मजयन्ती मनाइएकाे छ । माघ २४ गते समको प्रतिमास्थल कमलपोखरीमा एक विशेष कार्यक्रमकाे आयोजना गरी समकाे जन्मजयन्ती मनाइएकाे हाे ।

नेपाली शिक्षा परिषद् तथा काठमाडौं महानगरपालिका वडा नम्बर एकको संयुक्त आयोजना रहेकाे कार्यक्रममा समको जीवनी, उनले नेपाली साहित्यमा पुर्याएको योगदान तथा उनको व्यक्तित्वमाथि चर्चा गरिएकाे थियो ।

नेपाल शिक्षा परिषद्की अध्यक्ष रमा शर्माको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा काइँलाले बालकृष्ण समले देशप्रेम, आध्यात्मिक, सामाजिक र दार्शनिक सबै क्षेत्रमा कलम चलाएर नेपाली साहित्यलाई समृद्ध बनाएको बताए । साथै, समयले नाटकमार्फत लैङ्गिक समानतामाथि विवेकपूर्ण अभिव्यक्ति मञ्चन गरेको बताए ।

सभाका सभापति साहित्यकार रमा शर्माले शिक्षा परिषद्सँग समको नङ्गमासुको सम्बन्ध रहेको बताइन् । सम परिषद्को अध्यक्ष छँदा आफू सदस्य सचिव भएकाले समसँगको सम्बन्ध प्रगाढ रहेको उनले बताइन् । साथै, उनले समको प्रतिमाको संरक्षण तथा व्यवस्थापन कार्यका लागि डा. मृगेन्द्रराज पाण्डेबाट प्राप्त ५ लाखको आार्थिक सहयोगका लागि धन्यवाद ज्ञापन गरिन् ।

उनले डा. पाण्डेलाई अभिनन्दन पनि गरेकी थिइन् ।

कार्यक्रममा वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने परिषद्का सदस्य लक्ष्मण थापा तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले शुभकामना मन्तव्यसहित समको व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा साहित्यकारहरू नरेन्द्रबहादुर श्रेष्ठ, डा.बमबहादुर थापा’जिताली’, प्रल्हाद पोख्रेल तथा शान्ति सापकोटाले समद्वारा रचित कविताहरू वाचन गरेका थिए भने सोही समारोहमा विमोचित पुस्तक ‘अमर अनुभूति’का स्रष्टा कवि प्रेमनाथ घिमिरेले आफ्नो विमोचित पुस्तकबाट एउटा कविता वाचन गरेका थिए ।

कार्यक्रमको सञ्चालन समालोचक ज्ञाननिष्ट ज्ञवालीले गरेका थिए ।