बानेश्वरमा ब्यूरो–८१ ले ‘बृहत् सिर्जना संवाद २०८०’ सम्पन्न गरेको छ । ब्यूरो सिर्जना संवादका संयोजक वरिष्ठ साहित्यकार गोपी मैनालीको संयोजन तथा सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा वरिष्ठ नियात्राकार रामप्रसाद पन्त, कविहरु राममणि दुवाडी, तिलक पौडेल, शालिग्राम रिजाल, इन्दिरा रिजाल, रोहित पोखरेल, उत्तम नागिला, रामप्रसाद भट्टराई, रामबहाुदुर घिमिरे, तेजप्रसाद पौडेल, यादव खनाल, रमेश खनाल, कमलमणि काफ्लेले कविता वाचन गर्नु भएको थियो भने उपन्यासकार लक्ष्मीविलास कोइरालाले ऐतिहासिक कथावस्तुमा आधारित आफ्नो उपन्यास ‘सीमाना खोज्दै’ को रचना गर्भका विषयमा विश्लेण गर्नुभएको थियो ।

दर्शनशास्त्री एवम् चिन्तक डा. देवी प्रसाईंले आफूले अनुवाद गर्नुभएका दर्शनशास्त्रका दुई पुस्तक ‘अष्टावक्र गीता’ र ‘भागवत गीता’ पुस्तकमाथि प्रकाश पार्दै उक्त दुवै कृति सर्जकहरुलाई वितरण गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरु राधाकृष्ण प्रधान, प्रकाश सवेदी, जगन्नाथ अधिकारी र झविन्द्र अर्यालले सामयिक साहित्यमाथि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, सिर्जना संवादका संयोजक गोपी मैनालीले साहित्यका विभिन्न साहित्यकारहरुबाट प्रस्तुत रचनाहरुको विषयमा संक्षिप्त समीक्षा गर्दै संवादमा प्रस्तुत भएको सिर्जनाहरु दायित्व वाङ्मय प्रतिष्ठानबाट द्वैमासिक रुपमा प्रकाशन हुने दायित्व साहित्यिक पत्रिकाको ८१ नयाँ वर्ष विशेषाङ्कका रुपमा प्रकाशन गर्न प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तलाई अनुरोधसमेत गर्नुभयो । उक्त अनुरोधलाई अध्यक्ष पन्तले सहमति जनाउनुभएको थियो ।

साथै, ब्यूरोका स्रष्टाहरुको सहलेखनमा एक प्रयोगमूलक उपन्यास सिर्जना गरी प्रकाशन गर्न संयोजक मैनालीबाट राखिएको प्रस्तावमा भेलाले सम्मति जनायो ।

ब्यूरो–८१ का अध्यक्ष यादव खनालले यस प्रकारको सिर्जना भेला सम्भव भएसम्म अर्धवार्षिक रुपमा र नसके कम्तीमा वर्षको एकपटक आयोजना गर्दै सर्जकहरुलाई प्रोत्साहन गर्ने बताउनुभयो ।