विराटनगर । अग्रज कवि विमल वैद्यको नवीनतम् कृति ‘युगको तटमा उभिएर’ कवितासंग्रहमाथि आज विराटनगरमा विमर्श गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना गरेको कार्यक्रममा ‘युगको तटमा उभिएर’ कवितासंग्रहमाथि विमर्श गरिएको हो ।

अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कवि मनु मञ्जिल, सीमा आभास र समीक्षक दिनेश श्रेष्ठले संग्रहका विषयमा चर्चा गर्नुभएको थियो । उहाँहरुले संग्रहले समसामयिक विषयलाई सशक्त रुपमा उठान गरेको बताउनुभयो ।

कार्यक्रममा कवि देवान किराँती, सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल, टीका आत्रेय, मीनकुमार नवोदित, दीपक सम्चू र दीपा दाहालले संग्रहभित्रका कविता वाचन गर्नुभएको थियो ।

विमर्श कार्यक्रममा कवि वैद्यले लेखकीय मन्तव्य व्यक्त गर्नुभएको थियो । पेज टर्नर प्रालि काठमाडौंले प्रकाशन गरेको सो संग्रहभित्र ३८ वटा कविताहरू संग्रहित छन् ।