स्वर्णिम साहित्य समाज बराहक्षेत्र – ३ ले आगामी फागुन १२ गते बराहक्षेत्र नगरपालिकामा ‘प्रज्ञा कविता उत्सव – २०८०’ को आयोजना गर्ने भएको छ ।

आज बसेको स्वर्णिम साहित्य समाज बराहक्षेत्र – ३ को बैठकले कार्यक्रमको तयारी सुरु भैसकेको समेत बताएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव – २०८० मा उत्कृष्ट – १० पुरस्कृत कविहरूलाई केन्द्रित गर्दै सो कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ ।

सो उत्सवमा उद्घाटन सत्रको सहजीकरण समाजका सचिव एवम गजलकार लक्ष्मण कटुवालले गर्नेछन् । अन्य सेसनहरूमा ‘राष्ट्रिय कविता महोत्सव – २०८०’ उत्कृष्ट १० कविहरुको प्रस्तुति’ सेसनअन्तर्गत महोत्सवका विजेता कविहरू समीप वैरागी, जीवन आरोही, राधिका कल्पित, तिर्थ विश्वकर्मा, नविन अभिलाषी, उमेश पुन, पुर्णान्द ओझा, प्रकाश दिप्साली राई, खिमानन्द जोशी र कृपा करूणा पोख्रेलले २/२ वटा कविताहरू प्रस्तुत गर्नेछन् ।

यो सेसनलाई स्टोन आर्टिष्ट एवम् कवि दीपा मग्रातीले सहजीकरण गर्नेछन् ।

यस्तै, अतिथि कविहरु सेसन अन्तरगत रेखा सुवेदी, भीम विरही राई, रोशन परियार र बिराट किरातीले १/१ वटा कविता सुनाउने छन् । यो सेसन मनोज विष्टले सहजिकरण गर्नेछन् भने बराहक्षेत्रको स्थानीय सर्जक र सिर्जना सेसन अन्तरगत लक्ष्मण कटुवाल, सविता फागो, वर्षा भण्डारी, ज्ञानु राई र राजन इशारा राईले गजल तथा कविता प्रस्तुत गर्नेछन् । सो सेसनको सहजीकरण गजलकार तथा पत्रकार अच्युत भट्टराईले गर्नेछन् ।

वाचन भएका कविताहरु माथि प्रख्यात कवि मनु मन्जिल र प्राज्ञ राजन मुकारुङले वक्ताको भुमिका निर्वाह गर्नेछन् । उत्सवलाई रौनकता थप्न स्थानीय गायक गायिका निरज राई, राजेश परियार र बिनिता राईले गायन प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा प्रमुख अतिथिका निमित्त नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भुपाल राई, विशिष्ट अतिथिका रुपमा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की र उपप्रमुख नन्दकुमारी राईलाई निमन्त्रणा गरिने भएको छ ।

कार्यक्रमलाई सफल पार्न मुख्य सहयोगीको भूमिका बराहक्षेत्र नगरपालिकाले निर्वाह गर्ने भएको छ । सहकार्य भने नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौ रहनेछ । कार्यक्रमको ब्रोडकाष्टिङ पार्टनर पुर्वी पहिलो खबर रहनेछ । साथै कार्यक्रमलाई व्यवस्थित पार्न बराहक्षेत्रका वडाहरु तथा समाजका शुभेच्छुक तथा शुभेच्छुकहरुले सहयोग गर्ने समाजका अध्यक्ष प्रकाश दिप्साली राईले बताए ।

‘प्रज्ञा कविता उत्सव-२०८०’का संयोजक कवि छबिना लुङ्गेली मगरले सिर्जना र समाजले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा यो कार्यक्रमको आयोजना गरेको बताइन् । उनले थपिन्, “हामी कसैलाई जित्न र उछिन्नु छैन  हामी सिर्जनाको यात्रामा छौँ । स्वर्णिम साहित्य समाजलाई सिर्जना र यो समाजले केही जिम्मेवारी दिएका छन् ती जिम्मेवारी पूरा गर्ने क्रममा यो कार्यक्रमको आयोजना गरेका हौँ । पुर्व मेचीदेखि पश्चिम कालीसम्मका कवि तथा लेखकरुले यो साहित्यिक भूमि बराहक्षेत्रमा पाइला राख्दै हुनुहुन्छ । साँच्चै यो भूमि साहित्यिक भूमि हो भन्ने उदाहरण पेश हुँदैछ । यो मानेमा हामी यो कार्यक्रम आयोजना गर्न पाउँदा निक्कै गर्वको महसुस समेत गरेका छौँ । बराहक्षेत्रका कवि लेखक तथा देश तथा विदेशमा रहनुभएका हाम्रा शुभेच्छुक , शुभचिन्तकहरु साथै अझ जिम्मेवार स्थानीय निकाय र यहाँका वडाहरुलाई सक्दो सहयोग गर्न अनुरोध समेत गर्दछु ।”

स्मरण रहोस् स्वर्णिम साहित्य समाज विगत डेढ दषकदेखि निरन्तर बराहक्षेत्रको साहित्य र सिर्जनाको उन्नयनमा निरन्तर समर्पित रहेको साहित्यिक संस्था हो ।