काठमाडौँ । निबन्धकार जयदेव गौतमको निबन्धसङ्ग्रह ‘ती निला आँखा’ लोकार्पण गरिएको छ । काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच उक्त कृतिको लोकार्पण गरिएको हो ।

कृति लोकार्पण कार्यक्रमलाई नेपाल स्रष्टा समाजले आयोजना गरेको हो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संरक्षक पवन आलोक, सल्लाहकार चन्द्रप्रसाद भट्टराई, साहित्यकार प्रमोद प्रधान, समीक्षकहरु डा. रजनी ढकाल, भिष्म उप्रेती, गौतमका पारिवारिक सदस्य राजेन्द्र थापालगायतले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गर्नुभयो ।

कृतिको समीक्षा गर्दै साहित्यकार प्रमोद प्रधानले निबन्धका भाव र शब्दहरुले पनि मन छुने बताउनुभयो । निबन्धहरुको विस्तृत विवेचना गर्दै उहाँले देउरालीका सुस्केराहरु शीर्षकको निबन्ध समग्र नेपाली समाजको चित्र रहेको उल्लेख गर्नुभयो ।

समीक्षक डा. रजनी ढकालले उपाख्यान गर्ने कला गौतमका निबन्धमा रहेको बताउनु भयो । संग्रहभित्र निजात्मक, संस्मरणात्मक, यात्रात्मक लगायतका निबन्ध रहेको उहाँले बताउनुभयो ।

अर्का समीक्षक भीष्म उप्रेतीले गौतमको संग्रहमा केही निबन्ध र केही प्रबन्ध रहेको उल्लेख गर्नुभयो । निबन्धमा पत्रकारिताको भाषा माझिएको रुपमा देखिने पनि उहाँले बताउनु भयो । निबन्धको शीर्षक र दुईवटा निबन्ध परिवर्तन गर्न सुझाव दिए पनि गौतमले स्वीकार नगरेको उहाँले सुनाउनुभयो ।

नियात्राकार गौतमका पारिवारिक सदस्य राजेन्द्र थापाले विभिन्न समयमा लेखिएका विभिन्न क्षेत्रका निबन्धहरु संग्रहमा रहेको बताउनुभयो । गौतमको लेख्ने हुटहुटी र लेखेको कुरा प्रकाशन गर्नुपर्छ भनेर शारीरिक असक्षमताका बाबजुद पनि कृतिको रुप दिन सफल हुनुभएको उहाँले बताउनु भयो । उहाँले गौतमको व्यक्तिगत जीवनको बारेमा पनि स्रष्टाहरुलाई जानकारी दिनुभयो ।

कार्यक्रमलाई समापन गर्दै समाजका अध्यक्ष तथा सभाध्यक्ष श्रीओम श्रेष्ठ रोदनले निबन्ध लेख्नेको संख्या कहिल्यै बढ्न नसकेको अवस्थामा गौतमको निबन्धसङ्ग्रह आएकोमा खुसी व्यक्त गर्नुभयो । विदेशमा बसेर र अस्वस्थ अवस्थामा पनि यसरी साहित्यसेवामा निरन्तर लागिरहनु भएकोमा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । साहित्य र लेखनले जीवनलाई उर्जामय बनाउने बताउँदै उहाँले निबन्धकार गौतम उदाहरणीय व्यक्ति भएको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई समाजका महासचिव देविका तिमिल्सिनाले सञ्चालन गर्नुभयो ।

समसामयिक, राजनीति, साहित्य, खेलकुद लगायतका विधामा कलम चलाउँदै आएनुभएका गाैतमका ‘विश्वकप फुटबल : कथा एक गाथा अनेक (२०५९), ‘लक्ष्मण–रेखाका दासहरु’ (२०६७), ‘आवाजहरु मौन छैनन्’, छोरीले जन्माएका आमाहरु’ लगायतका पुस्तकहरु प्रकाशित छन् ।