वरिष्ठ पत्रकार तथा साहित्यकार कमल रिजालको पुस्तक ‘दर्शनभित्रको दर्शन’ प्रकाशनमा आएको छ । सुदूर पश्चिम विश्वविद्यालयको दर्शन विषयक पीएचडी पाठ्यक्रममा समावेश यो पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।
‘दर्शनभित्रको दर्शन’को पहिलो संस्करण वि.स. २०७४ सालमा प्रकाशनमा आएको थियो । पुस्तकको दोस्रो संस्करण साहित्यपोस्टबाट प्रकाशनमा आएको हो ।
‘दर्शनभित्रको दर्शन’ दार्शनिक पृष्ठभूमिमा लेखिएका लेख तथा निबन्धहरूको सँगालो हो । सुदूर पश्चिम विश्वविद्यालयको दर्शन विषयक पीएचडी पाठ्यक्रममा रहेको तथा अनौपचारिक रूपमा त्रिविविमा समेत पठनपाठन भइरहेको यस पुस्तकमा वेदवेदान्त र तिनका वादहरू विषयवस्तुका रूपमा समेटिएका छन् । साथै, पश्चिमका केही फिलोसफीका विषयवस्तुलाई समेत पुस्तकमा प्रस्तुत गरिएको छ ।
बजार पुस्तकको माग बढ्दै गएको अवस्थालाई मध्यनजर गरी दोस्रो संस्करण सहित्यपोस्टबाट प्रकाशन गरिएको लेखक रिजालले बताए । ‘पुस्तकमा लेखनिबन्ध सबै दार्शनिक पृष्ठभूमिका छन् । पुस्तकलाई वैदिकदर्शन, अवैदिकदर्शन र विविधदर्शन गरी तीन भागमा वर्गीकरण गरी थप पठनीय बनाउने प्रयास गरेको छु ।’, लेखक भन्छन्, ‘शीर्षकहरूका नाम र शिलशिलामा सामान्य परिवर्तन गरी मिल्दोजुल्दो विषयका लेखनिबन्धलाई एकै स्थानमा राखिएका छन् । यसबाट पठनमा थप सहज हुने विश्वास लिएको छु ।’
विगत २५ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका लेखक रिजाल अध्यात्मदर्शन क्षेत्रका सिद्धहस्त लेखक हुन् । रिजालका सुकर्म, पृथा, दृष्टिभ्रम, सत्यवती, सुदर्शन, पूर्वीय दर्शन मीमांसा, पूर्वीय दर्शन विमर्श, धर्मदर्शन, विश्वविख्यात वैदिक वैज्ञानिक, पौराणिक पात्र र मिथकहरूका साथै नीतिकथाहरू गरी १६ थान पुस्तक प्रकाशित छन् ।
रिजालको उपन्या ‘सुकर्म’ हिन्दी तथा अङ्ग्रेजी भाषामा अनुवादसमेत भएको छ ।
उनका चार हजार बढी लेख, निबन्ध तथा टिप्पणीहरू विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित भइसकेका छन् । पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।