युवा लेखक रमण जैसेरीको पुस्तक साहित्यपोस्टले प्रकाशन गर्ने भएको छ । रोजगारीको सिलसिलामा जर्मनीमा रहेका लेखक जैसेरीको पहिलो कृति साहित्यपोस्ट (इ) दैनिकको माउ संस्था शब्द मिडिया प्रा.लि.ले प्रकाशन गर्ने भएको हो ।
पछिल्लो समयमा मुख्यतः नियात्रा विधामा कलम चलाउँदै आएका छन् । उनका नियात्राहरू साहित्यपोस्ट (इ) दैनिकमा पढ्न सकिन्छ । जैसेरीले पुस्तकाकारका रुपमा भने कथासङ्ग्रह लिएर आउँदै छन् । पुस्तकका बारेमा जैसेरी भन्छन्, ‘कथा भनिए पनि विपीले भने जस्तै ती आत्मकथाका अंश पनि हुन् । ठुला मान्छेहरूका आत्मकथा लेखिन्छन् । भुईँमान्छेले तिनै कुरालाई आख्यानका रुपमा लेख्छन् ।’
जैसेरीको कथासङ्ग्रहको शीर्षक ‘कथा हुन्, कथा होइनन्’ रहेको छ । यो सन् २०१७ मै राखिएको खेस्रा शीर्षक भएको बताउँछन् जैसेरी । भन्छन्, ‘खेस्रा रुपमा राखिएको शीर्षक कायमै छ । सङ्ग्रहका रचनाहरू कथा नै हुन् । तर ठ्याक्कै हुबहु मिलाउन खोजियो भने गलत हुन्छ । ती कथामात्र भने होइनन् । कथामात्र भनेर नजरान्दाज गरियो भने एउटा समाजको, एउटा समयको इतिहास गुम्छ ।’
सङ्ग्रहमा जैसेरीले ‘सम्बन्ध’ र ‘समाज’ उपशीर्षकमा दुई किसिमका कथाहरू लेखेका छन् । पाठकलाई पट्यारलाग्दो नहोस् भनेर फरक–फरक स्वाद र विषयवस्तुका कथाहरूलाई सङ्ग्रहमा क्रमबद्ध गरिएको उनी बताउँछन् ।
सधैँ आफ्ना लेख तथा रचनाहरू प्रकाशन भइरहने अपनत्वसहित संस्था भएकाले पुस्तक प्रकाशनका लागि पनि साहित्यपोस्ट नै रोजेको जैसेरी बताउँछन् । आफ्नो रचनामा आफ्ना प्रयोगहरूलाई स्वतन्त्रता मिलोस् भन्ने हेतुले पनि प्रकाशकका रुपमा सहित्यपोस्ट रोजेको उनको मत छ ।
‘कति प्रकाशकले फरक विधा मागे, अनि कतिले ‘हामीले भनेजस्तो गरी सम्पादन गर्नुपर्छ’ भने । मलाई त्यसो गर्दा मेरा रचनाहरू मेरा रहिरहँदैनन् भन्ने लाग्यो ।’, जैसेरी भन्छन्, ‘अर्कोचाहिँ, बढीभन्दा बढी पाठकहरूबिच पुग्न सकूँ भन्ने पनि हो । साहित्यपोस्टका आफ्नै पाठक छन् । उहाँहरूबिच पु¥याउन पक्कै सहज होला । सम्पादनमा पनि कैफियत नरहला भन्ने पनि हो ।’
जैसेरीको पुस्तक प्रकाशन हुने कुरालाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले समेत पुष्टि गरेका छन् । उनी भन्छन्, ‘रमणजीको लेखन–कौशललाई लामो समयबाट हेरिरहेका थियौँ । नियात्रा लेखनमा उहाँले बेग्लै पहिचान बनाइसक्नुभएको छ । कथाकारका रूपमा पनि नवीन प्रयोगको साथ उहाँको उपस्थिति हस्तक्षेपकारी रहने कुरामा आशावादी छौँ ।’
जैसेरीको पुस्तक फागुन अन्तिम साता प्रकाशनमा आउने प्रकाशन संस्था शब्द मिडिया प्रा.लि.ले जनाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।