साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई प्रतिष्ठित चिकित्सक एवम् वाङ्मयसेवी, आख्यानकार तथा कवि प्रा. डा. अर्जुनदेव भट्टकृत नवीनतम उपन्यास “युद्धबिनाको युद्ध” प्राप्त भएको छ ।

उपन्यास १ सय ५५ पृष्ठमा मौलाएको छ । यसमा ‘चिरकालीन स्मृति’, ‘चेतना, सीप र रोजगार’, ‘औँसी युग’, ‘परिवर्तनको ज्वाला’, ‘जित्नैपर्ने युद्ध’ गरी ५ वटा शीर्षकमा पश्चिम नेपालको इतिहास देउकीसँगै समाजका सबै अभावग्रस्त पीडितलाई समेटिएको पाइन्छ । उपन्यासमा भिन्नभिन्न विचार एवम् प्रवृत्तिका बिचको सङ्घर्ष झिनो रूपमा आएको छ । मानव अधिकारको आवाज पनि गुन्जेको छ उपन्यासमा ।

युद्धबिनाको युद्ध

युद्धबिनाको युद्ध

“यसमा लेखकले देउकी कसरी बनाइन्छ र देउकीको कसरी सामाजिक, सांस्कृतिक हिसाबले शोषण गरिन्छ भन्ने कुरालाई प्रस्तुत गर्नुभएको छ । धर्म कमाउने नाममा आफ्नी माइली छोरीलाई मन्दिरमा चढाउने र त्यसपछि उसको जीवनप्रति कुनै किसिमको संवेदना नराख्ने संवेदनहीन आमाबाबुका कारण ती बालिकाले जीवनभर सामाजिक अपहेलना एवं शोषणको सामना गरिरहनु पर्दछ भन्ने कुरालाई देखाइएको छ यसर्थमा यो एक नौलो विषयवस्तु बोकेको उपन्यास हो भन्ने मेरो ठहर छ ।” भूमिकामा डा. पुष्कराज भट्ट उल्लेख गर्छन्, “…समाजमा मानिसमा चेतना प्राप्तिका लागि मानिसलाई जागृत बनाउनु, अधिकार प्राप्त गर्न सङ्घर्षमा उतार्नु र न्याय, समानता एवं स्वतन्त्रताका लागि लागिपर्न प्रेरित गर्न उपन्यासका डिल्ली, समुन्द्रा, पहलवान, डम्बरा आदि पात्र लागिपरेका छन् । यी पात्रले चालेको अभियानलाई साथसहयोग दिने काममा डिल्लीकी आमा पनि लागिपरेकी छिन् ।”

‘दुई शब्द’मा अर्जुनदेव भट्ट लेख्छन्, “पात्रहरू पूर्वजहरूको ज्यादतीको बदख्याँइ गरेर मात्र बस्दा उनीहरूको जीवनमा फरक पर्ने छैन भन्ने विचारमा यकिन राख्दछन् । कर्म, सिप, चेतनाको वृद्धि र निरन्तरको सङ्घर्षले मात्र प्रत्येकले आफ्नो जीवन बदल्न सक्छ भन्नेमा ती दृढ छन् । यही इरादा राखेर ती निरन्तर कर्ममा जुटेका छन् । धार्मिक अन्धविश्वासमा बाँचेको पितृसत्तात्मक समाजमा नारी, दलित तथा सबै आर्थिक रूपमा दुर्बल मानिसहरू आत्मविश्वास र आत्मसम्मानसहित बाँच्ने मौका खोजिरहेछन् । ती देख्दा मात्र जिउँदा तर सबै प्रकारका अभाव, अपमान, पीडा र बन्देजले भित्रभित्रै मरिरहेका छन् । उनीहरूको शरीर मात्र आफ्नो तर सबै लुटिएको कतै कहीँ केही बाँकी राखिएको छैन ।”

पुस्तकको कभर पृष्ठमा लेखिएको छ, “आत्महत्या गर्नु समस्या र चुनौतीदेखि डरेर भाग्ने सबैभन्दा निकृष्ट, निराशा प्रकट गर्ने उपाय हो । त्यो समाधान हँदै होइन । मानिसको जीवनमा थुप्रै चुनौती र अवरोध छन् तर यो देशमा काम नपाइने होइन ।”

पुस्तकलाई भुँडीपुराणले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य २ सय ९० रहेको छ ।