ललितपुर । ललितपुरस्थित मंकाःखलको सभाकक्षमा आयोजित एक समारोहमा विजयी लघुकथाकारहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएकाे छ ।

नेपालभाषा चिबाखं साहित्य र लुम्बिनी सम्यक् फाउण्डेसनको संयुक्त आयोजनामा भएको सो समारोहमा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले विजयी स्रष्टाहरुलाई प्रमाणपत्र र लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन माणिकरत्न शाक्यले नगद पुरस्कार प्रदान गरेका हुन् ।

प्रतियोगितामा निर्मल बज्राचार्य, रासा र रामेश्वर जलन क्रमशः प्रथम, द्धितीय र तृतीय भएका थिए भने विनय राजोपाध्याय, प्रमोद अमात्य र राजन महर्जनले प्रोत्साहन पुरस्कार पाएका थिए ।

कार्यक्रममा कथाकार ध्रुव मधिकर्मीले प्रतियोगितामा प्राप्त लघुकथाबाट नेपालभाषामा लघुकथा लेखनमा उत्साह र नयाँ सोच देखापरेको बताए भने कथाकार केदार सितुले सानो हुँदैमा लघुकथा हुन्न भन्दै यसको संरचनाबारे स्रष्टाहरूले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमको दोश्रो चरणमा कवयित्री रीता महर्जनको तनावंगु किपा (हराएको चित्र) कवितासंग्रह सार्वजनिक गरिएको थियो । पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै बौद्ध विश्वविद्यायलयका डीन शाक्यले मानवीय भावनाका विविध सन्दर्भलाई कवितामा हार्दिक रुपले अभिव्यक्त गरिएको बताए ।

कार्यक्रम चिबाखं साहित्यका संयोजक नरेश अमात्यको सभापतित्वमा भएको थियो ।

लुम्बिनी सम्यक् फाउण्डेसनबाट प्रकाशित उक्त कृतिमा प्रेमको हार्दिकता, सकारात्मका सोचको आग्रह र जीवनको लागि आवश्यक आध्यात्मिक चेत विषयक ३४ वटा कविता छन् ।