काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सर्वाधिक प्रतिभाशाली नेता भएको बताएकी छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानकाे भवनमा ओलीले विभिन्न कालखण्डमा संसदमा गरेका भाषणको सङ्ग्रह ‘संसद्मा केपी ओली’ विमोचन गर्दै भण्डारीले ओली सर्वाधिक प्रतिभाशाली नेता भएको बताएकी हुन् ।

भण्डारीले पुस्तकको विमोचनपश्चात् बोल्दै भनिन्, ‘सङ्ग्रहमा राजनीतिक भाषण मात्र नभई बहुविधागत ज्ञानका दृष्टिकोणले महत्त्वपूर्ण छन् । ती सङ्कलनीय र संग्रहणीय छन् । यस पुस्तकका नायक केपी शर्मा ओली समकालीन नेताहरूमा पृथक् पहिचान बनाउनुभएको नेता हुनुहुन्छ । ओली सर्वाधिक प्रतिभाशाली नेताका रूपमा उच्च स्थान प्राप्त गर्न सफल हुनुहुन्छ ।’

ओलीमा राजनीतिका अतिरिक्त कला, साहित्य, एवं धर्म, दर्शन र विज्ञान लगायतका विषयमा पनि गहन ज्ञान रहेको उनको भनाइ थियो । ‘सघन अध्ययन र सङ्घर्षमय जीवनको लामो अनुभवले खारिनु भएका नेता ओली हाम्रा लागि सधैँ प्रेरणाको स्रोत हुनुहुन्छ,’ उनले भनिन् ।

विमोचित पुस्तक एमाले अध्यक्ष ओलीले २०४८ सालदेखि २०७४ सालको संसदमा गरेका भाषणहरूको सङ्ग्रह हो । यो पुस्तक सविता खड्काले सम्पादन गरेकी हुन् ।