काठमाडौँ । यस वर्षको ‘अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार’ कवि बिमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्बाङको पाँचौं स्मृति दिवसमा तुम्खेवा र बाँस्कोटालाई संयुक्त रूपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानले तुम्खेवा र बाँस्कोटालाई साहित्य सम्मानसहित एकजना जेहेन्दार विद्यार्थीलाई छात्रवृति र आगलागी तथा पहिरोपीडितलाई राहत वितरण गर्न लागेको हो ।
पुरस्कार तथा छात्रवृत्ति आउँदो माघ २६ गते फिदिममा कार्यक्रम गरी वितरण गरिने प्रतिष्ठानले जनाएकाे छ । छात्रवृत्तितर्फ ज्योति सेकेण्डरी स्कुल, फाल्गुनन्द-७ मा १० कक्षामा अध्ययनरत विद्यार्थी प्रेमा लावतीलाई छनोट गरिएको छ ।
तुम्खेवा र बाँस्कोटा दुवै कविका साथै पत्रकार पनि हुन् । तुम्खेवा हाल सञ्चारिका नेपालको अध्यक्ष छिन् भने बाँस्कोटा पाँचथर पत्रकार महासंघका अध्यक्ष हुन् । बाँस्कोटाको नियात्रा ‘कञ्चनजंघाको काखबाट’ र कविता कृति ‘ढुंगाको प्रेम’ प्रकाशित छन् ।
गत वर्ष यो पुरस्कारबाट साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत भएका थिए ।
स्वर्गीय अमर नेम्बाङ नेपाली साहित्यका एक विशिष्ट स्रष्टा हुन् । उनी पर्यावरणीय लेखनका अभियन्ता थिए । उनको संस्मरणात्मक निबन्धहरूको सँगालो ‘सम्झनाका तरेलीहरू’लाई यस लेखनको उत्कृष्ट प्रयोगका रुपमा लिइन्छ । उनको सम्झनाको तरेलीसँगै ‘अमेरिका भ्रमणका केही सम्झनाहरू’ (संस्मरण) र ‘एउटा साँझको अवसान’ कविता कृति प्रकाशित छन् ।
वि.सं.१९९८ साल श्रावण २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा जन्मिएर आफ्नै गाउँको सारताप स्कुलबाट अध्ययन सुरु गरेका नेम्बाङले सन्त रोबर्टस उच्चमावि दार्जिलिङबाट १९६१ मा हाइस्कुल पास गरेका थिए भने सन्त जोसेफ कलेज नर्थप्वाइन्ट दार्जिलिङबाट १९६६ मा बिए सकेका थिए ।
१९६९ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका नेम्बाङ पाँचथरमा लिम्बू समुदायबाट स्नातकोत्तर गर्ने पहिलो व्यक्ति पनि हुन् ।
२०३३ सालमा जनपक्षीय उम्मेदवार भएर चिलिङदेन गाउँको नेतृत्व सम्हालेका नेम्बाङ पटकपटक तत्कालीन पौवासारतापमा नेकाको तर्फबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । नेम्बाङले स्थानीय तहबाट देशभरमा पहिलो पटक मातृभाषा शिक्षा पठनपाठनलाई आधारभूत तथा माध्यमिक विद्यालयमा सञ्चालन गरेका थिए ।
गाँउपालिकाको वडा नं ५ ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा २०७५ साल माघ २६ गते नेम्बाङको निधन भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।