काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले दुई पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले यस वर्ष अर्पण गरिने ‘भीमदर्शन मुक्तक पुरस्कार’ साहित्यकार सरूभक्त तथा ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ मुक्तककृति ‘आरब्ध’लाई प्रदान गर्ने घोषणा गरेकाे हाे ।
प्रतिष्ठानले मुक्तक दिवसको अवसर पारेर पाँच दशक अघिदेखि मुक्तक साहित्यमा अनवरतरूपमा कलम चलाउँदै आउनुभएका प्रसिद्ध साहित्यकार सरुभक्तलाई ‘भीमदर्शन मुक्तक पुरस्कार २०८०’ प्रदान गर्ने निर्णय गरेकाे छ । यो पुरस्कारको नगद राशि रु. ५१ हजार रहेकाे छ ।
त्यस्तैगरी, २०७९ सालभरिमा प्रकाशित प्रतिष्ठानलाई प्राप्त नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट ठहरिएको मुक्तककृतिलाई अर्पण गरिने ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ अनुराधा ढकालको मुक्तककृति ‘आरब्ध’लाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशि रु. ३१ हजार रुपैयाँ रहेकाे छ ।
यी दुवै पुरस्कारहरू नेपाली आधुनिक मुक्तक साहित्यका प्रवर्तक भीमदर्शन रोका र कालजयी सष्टाहरू कृष्णप्रसाद पराजुली, रत्नशम्सेर थापा र चेतन कार्कीको सम्मानमा स्थापित पुरस्कारहरू हुन् ।
सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली साहित्यका विशिष्ट स्रष्टा रत्नशम्सेर थापाको पहिलो मुक्तककृति ‘शीतको रुनझुन’ को समेत लोकार्पण गरिने प्रतिष्ठानले जनाएको छ ।
आउँदो माघ १८ गते मुक्तक दिवसको अवसरमा काठमाडौँमा आयोजना गरिने समारोहमा उपर्युक्त दुवै पुरस्कारहरू अर्पण र कृतिलोकार्पण गरिने छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।