धार्मिक कार्यक्रमका माध्यमबाट सामाजिक रुपान्तरण गर्ने र जलको संरक्षण गर्ने उदेश्यसहित “अनन्तः ब्राह्मण्डीय महायज्ञ -२०८०”को आयोजना गरिने भएको छ ।

सर्वसिद्धिधाम, पन्चकोट, बागलुङमा आगामी २०८० फागुन ९ देखि २३ गतेसम्म आयोजना गरिने यस महायज्ञमा दस लाख बढी भक्तजनको उपस्थिति हुने अनुमान गरिएको छ ।

श्रीकृष्णागण्डकी, शालग्राम र समग्र मुक्ति क्षेत्रको महिमालाई लोकोत्त गर्ने, गोवंशको संरक्षण गर्ने र गर्न प्रेरणा प्रदान गर्ने, पंचकोटमा जलसम्पदा संरक्षणको प्रतीक स्वरुप निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिने, नैतिक, शिष्ट, समुन्नत र सच्चरित्रवान समाजको पुनर्जागरण गर्ने र यज्ञमा शेष रहेको रकम सर्वसिद्धिधाम पन्चकोटको सर्वाङ्गीण विकासमा प्रयोग गर्ने यस महायज्ञको उदेश्य रहेको छ ।

आनन्द भवन पशुपति तिलगंगा काठमाडौमा जल संरक्षण महाअभियान अन्तर्गत आनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० हुने जानकारी एवम् सत्सग कार्यक्रम सम्पन्न भयो । जल र प्रकृति संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले महायज्ञको आयोजना गरिने भएको छ ।

मुक्तिनाथ पीठाधीश मुक्ति नाथबाबा कमलनयनाचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महायज्ञसँगै अन्य विविध क्षेत्रका बारेमा विचार विमर्शसमेत हुने जानकारी गराइयो ।

कार्यक्रममा बोल्दै, वरिष्ठ चिकित्सक डा. भोला रिजालले कालीगण्डकीको जल प्रदूषणबारे चिन्ता व्यक्त गर्नुभयो । शालिग्राम चोरी पैठारी र जल प्रदुषणबारे अब पनि चासो नदिए ठूलो क्षेती बेहोर्नुपर्ने उहाँको भनाई रह्यो ।

त्यस्तै, कार्यक्रममा पूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठले आध्यामिक ज्ञानसँगै प्राकृतिक संरक्षणको काम निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले कालीगण्डकी जस्तो पवित्र अन्य देश कतै नभएको भन्दै त्यसलाई जोगाउन लागि नपरे भोली नास हुने बताउनुभयो ।

कार्यक्रममा पूर्व मुख्य सचिव मुकुन्द शर्मा पौडेल, क्याप्टेन रामेश्वर थापालगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।

रंगकर्मी एवम् आख्यानकार किशोर पहाडीले धेरै पहिला त्यहाँ पुगेर नदीबाटै शालिग्राम ल्याएर घरमा पुज्ने गरिएको छ ।अहिलेमाथिसम्म पनि शालिग्राम पाइदैन भन्ने सुनेको छु ।गण्डकी दोहन भएको छ, कवि आर के अदिप्त गिरि यो अभियानमा छन् । मलगायत हामी साहित्यकार पनि यो अभियानमासंगै रहेको जानकारी गराउँदछु भन्नू भयो ।

मुक्तिनाथ पीठाधीश मुक्ति नाथबाबाले पशुपतिनाथ, मुक्तिनाथ र राष्ट्रको महिमासहित विश्व शान्ति कामनाको लागि यो महायज्ञ गर्न लागेको बताउनु भएको थियो ।

उपस्थित सबैलाई बाबाबाट रुद्राक्षको माला लगाइदिएर आशिर्वाद प्रदान गरिएको थियो । कार्यक्रम संचालन र सहजीकरण कवि संचारकर्मी ठाकुर बेल्बासेबाट भएको थियो ।