यस वर्षको बालप्रतिभा पुरस्कार मल्ललाई प्रदान गर्ने निर्णय भएको सरुभक्त केन्द्रले जनाएको छ । साहित्यकार सरुभक्त श्रेष्ठको सम्मानमा सरुभक्त केन्द्रद्वारा स्थापित ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार – २०८०’ बाल गायक सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने भएको हो।
केन्द्रकी सदस्य कवि सरस्वती प्रतीक्षाको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिले मल्लको नाम अनुमोदन गरेको हो ।
बाजुराको हिमाली गाउँपालिका-६ का ११ वर्षीया मल्ल सानै उमेरमा गीत-संगीतको क्षेत्रमा क्रियाशील छन् । उनले अहिलेसम्म १९० वटा गीत गाइसकेका छन्।
उनको स्वरमा विशेषत: लोकभाका, चलचित्रका गीत, आधुनिक, देशभक्ति, बालगीतसँगै देउडा, ठाडो भाका, गजल, सालैजो, नेवारी भाका, लिम्बू, पूर्वेली भाका, किराती र मधेशी भाकाका गीत रेकर्ड भइसकेका छन् ।
विभिन्न क्षेत्रमा विशिष्ट प्रतिभा हासिल गरेका १६ वर्षमुनिका बालबालिकालाई सम्मान र प्रोत्साहन गर्ने हेतुले साहित्यकार सरुभक्तले २०५६ सालमा पुरस्कारको स्थापना गरेका थिए । राष्ट्रिय बालप्रतिभा पुरस्कारको नामबाट स्थापित पुरस्कारको अक्षयकोषमा त्यति बेला एक लाख रुपैयाँ थियो। वार्षिक रूपमा देशभरबाट एक जना बालप्रतिभा छनोट गरी १५ हजार रुपैयाँ नगद राशि प्रदान गरिन्थ्यो ।
यसै वर्षदेखि साहित्यकार सरुभक्तले आफ्ना स्वर्गीय बुबा गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मीमाया श्रेष्ठको स्मृतिमा थप १० लाख ५० हजार रुपैयाँ थपेर ११ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । त्यही अनुसार यस वर्ष पुरस्कृत हुने बालप्रतिभालाई ५० हजार रुपैयाँ नगद सहित सम्मानपत्र अर्पण गरिनेछ ।
सम्मानित हुनेमा १६ वर्षमुनिका विश्वकै प्रथम कीर्तिमानी सगरमाथा आरोही तेम्बाछिरी शेर्पा (२०५७), नृत्य क्षेत्रबाट ज्योति थापा (२०५८), गायन क्षेत्रबाट ऋतु लामा (२०६०), कला क्षेत्रबाट शिखा कटुवाल (२०६१), कला क्षेत्रबाटै करुणा गुरुङ (२०६२), खेलकूद क्षेत्रबाट सिपोरा गुरुङ (२०६४), विज्ञान तथा प्रविधि क्षेत्रबाट कुशल केसी (२०६५) र पर्वतारोहण क्षेत्रबाट निमा छ्याङदी शेर्पा (२०६९) छन्।
त्यसयता प्रतिभा पुरस्कार वितरणले निरन्तरता पाउन सकेको थिएन । आउँदो माघ २७ गते मल्ललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको केन्द्रले जनाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।