नेपालकै पहिलो कवितासम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’को दोस्रो सिजन माघ २२ देखि हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ ।

पहिलो सिजन एपी-वान टेलिभिजनबाट प्रसारण भएकाे पोएट आइडलको दोस्रो सिजन हिमालय टेलिभिजनबाट प्रसारण हुने भएकाे हाे ।

माघ २२ बाट प्रसारणका लागि हिमालय टेलिभिजन र पोएट आइडलका निर्देशक अमनप्रताप अधिकारी बिच यसबारे सहमति भइसकेकाे आइडल टिमले जनाएकाे छ ।

डिजिटल अडिसन चरण सकिसकेकाे पोएट आइडल प्रत्येक सोमबार र मङ्गलबार राति ९ बजेबाट कार्यक्रम प्रसारण हुने छ । पहिलो चरणकाे फिजिकल अडिसन राउण्डबाट १४ जना प्रतिस्पर्धीसमेत छनोट भइसकेका छन् । १४ प्रतिस्पर्धीमा सिक्किमबाट दुई, दार्जिलिङ र सिलिगुढीबाट एक–एक जना तथा बाँकी नेपालबाट रहेका छन् ।

अडिसन राउण्डका चार एपिसोड प्रसारण हुने भएको छ । पाँचौँ एपिसोडबाट पर्फमेन्स राउण्ड सुरु हुनेछ । यो चरणमा सात-सात जनाको ए र बी समूह बनाएर पर्फमेन्स गर्न लगाइनेछ ।

त्यसपछि वाइल्ड कार्ड र मर्ज एपिसोड राउण्ड हुनेछन् ।

प्रतिस्पर्धीले संगीत, प्रप्स र मान्छे राखेर समेत एक्ट पर्फमेन्स दिनुपर्नेछ । निर्देशक अधिकारीले दोस्रो सिजन सांगीतिक रुपमा विशेष समेत हुने बताएका छन् । ‘यो सिजनमा पहिलोभन्दा अधिक म्युजिकल पर्फमेन्स हुनेछ,’ उनले भने, ‘यसपटक म्युजिकल टिमलाई बृहत् बनाउने प्रयास गरेका छौं ।’

दोस्रो सिजनमा कुल ३१ एपिसोड हुनेछ । फिनाले जेठमा गर्ने तयारी रहेकाे अधिकारीले जनाएका छन् ।

यो सिजनको निर्णायकहरूमा उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीकलाई निरन्तरता दिइएको छ । नयाँ एक महिला निर्णायकको भने घोषणा गरिएको छैन । यसअघि महिला निर्णायकको रूपमा अभिनेत्री सुरक्षा पन्त रहेकी थिइन् ।

शोलाई दिव्यदेवले होस्ट गर्नेछन् । उनी पहिलो सिजनमा स्रोताहरूले रूचाएका होस्ट हुन् । पहिलो सिजनकाे पोएट आइडल सिक्किमकी कवि नीलम गुरूङ बनेकी थिइन् ।

पहिलो सिजनबाटै साहित्यपोस्ट (इ) दैनिक पोएट आइडलकाे साहित्यिक पार्टनका रूपमा आबद्ध छ ।