कोभिड लकडाउनको निराशापूर्ण वातावारणलाई सृजनात्मक अभ्यासमा फेर्ने उद्देश्यमा कला-सांस्कृतिक पोर्टल ‘पब्लिकनामा’ले जून ६, २०२० यता भारत, नेपाल, बङ्गलादेशका विभिन्न क्षेत्रका ८० भन्दा बढी विशिष्ट वक्ताहरू लिएर आफ्नो फेसबुक पेजमा लाइभ-वार्ता गराइसकेको छ । ‘द पब्लिकनामा टक’ नाममा सञ्चालित यस नियमित वार्तामा एउटा विषयमाथि साहित्य-कला-संस्कृति-फिल्म-सङ्गीत-विज्ञान क्षेत्रका विशेषज्ञले एक घण्टाको वार्ता पेश गर्ने गरेका छन् ।
पछिल्लो समय ‘फातसुङ’ उपन्यासले चर्चित भारतीय आख्यानकार छुदेन काविमोले भने, “कोरोना संक्रमण र लकडाउनको कारण यसचोटि संसार नै रोकियो। तैपनि सिर्जना रोकिएन। यसले नयाँ बाटो खोज्यो र आफ्नै गतिमा हिँडिरह्यो । त्यही हिँडाइको एउटा पाटो पब्लिकनामा पनि हो।”
नेपाली, हिन्दी, बङ्गला, अङ्ग्रेजी भाषामा चलिरहेका वार्ता शृङ्खलालाई दर्शकले रूचाएका छन् । हिन्दी साहित्यका शिखर सर्जक अशोक वाजपेयीबाट आरम्भ भएको यस शृङखलामा भारतबाट मङ्गलेश डबराल, डा. कविता लामा, मनप्रसाद सुब्बा, तेञ्जिङ सुण्डु, अनिल कार्की, पुष्कर पराजुली, डा. सुदर्शन तामाङ, प्रशान्त रसाइली, देवाशिष मोथे, मुनिष तामाङ, सुभाष मणि प्रधान, नेपालबाट गणेश रसिक, कृष्ण धरावासी, राजेन्द्र महर्जन, आहुति, मल्लिका शाक्य, युग पाठक, उज्ज्वल प्रसाइँ, महेश पौड्याल, लीला लुइँटेल, युवराज घिमिरे , कुमारी लामा, उज्ज्वला महर्जन, बङ्गलादेशबाट गोसाइँ पह्लवी, राहेल राजीव आदिले वार्ता प्रस्तुत गरिसकेका छन् ।
२० अगस्त नेपाली भाषा मान्यता दिवसको उपलक्ष्यमा पब्लिकनामाले आउँदो १९ अगस्तदेखि ७ दिने विशेष वार्तागुच्छ पेश गर्न गइरहेको छ, जसमा भाषा आन्दोलनकारी दिलकुमारी भण्डारी, सिक्किम, भाषा आन्दोलनकारी-नाट्यभूषण सीके श्रेष्ठ, कालेबुङ, कवि-भाषा चिन्तक ज्ञानेन्द्र खतिवड़ा, सिलगढ़ी, भाषाविद-कथाकार सञ्जय़ विष्ट, कालेबुङ, भाषा आन्दोलन इतिहासकार सुवास सोताङ, गोरूबथान, कवि-व्याकरणकार केवलचन्द्र लामा, दार्जीलिङ एवं कवि नीलम गुरूङ, सिक्किम-ले भाषा आन्दोलनका विभिन्न कोणमाथि वार्ता पेश गर्ने भएका छन् ।
नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचिमा अनतर्भूक्त गराउन अग्रणी भूमिका निर्वाह गर्नु हुने सिक्किमकी दिलकुमारी भण्डारीले बताइन्, “पब्लिकनामा वार्ताकारहरूलाई सुनेर कोरोना महामारीले त्रस्त बनाएर घरमै थुनिएर बस्नुपर्दा आफूले अनुभव गरीरहेको लाचारीपनमाथि टीठ लाग्यो। खाने मुखलाई जुँगाले कहाँ छेक्दो रहेछ र! मान्छेको अदम्य इच्छाशक्ति, सृजनाको तृष्णा र अग्रगामी सोचलाई कोरोना भाइरसको पर्खालले के रोक्न सक्ने र?”
कवि-आख्यानकार कृष्ण धरावासी, काठमाड़ौँ-ले जनाए, “नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा दर्ता गराउने लडाइँको अन्तिम कडी हुनुहुन्थ्यो दिलकुमारी भण्डारी । नेपाली जातिको भारतीय राष्ट्रियतामाथि यो सबैभन्दा गौरवको दिन थियो । नेपाली भाषालाई अन्तर्राष्ट्रियकरण गराउने यो पहिलो पाइला थियो । मलाई सम्झना छ त्यो दिन मैले रामलालको देश शीर्षकको कविता लेखेको थिएँ” ।
प्रखर कवि ज्ञानेन्द्र खतिवडा, सिलगढीले भने, “देशको संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाले मान्यता पाउनु लामो आन्दोलन पछिको प्राप्ति हो। आन्दोलनताका देशभरि जातीय एकता बलियो बनाउँदै, अघिल्ला चरण दार्जीलिङ र पछिल्ला चरण सिक्किमले खेलेका भूमिका नै अन्तत: लक्ष्य साँध्न सफल भएको कुरो सर्वविदितै छ। यो प्राप्तिपछि एउटा जातीय चाड़को जन्म भयो – भाषा मान्यता दिवसका रूपमा। यसचोटि लामो लकडाउन अवधि देशभित्र र देशबाहिर विभिन्न इलेक्ट्रोनिक मिडियाहरूले नेपाली भाषा साहित्य र सङ्गीत कलादिमाथि दिनहुँजस्तै विभिन्न वार्ताहरूको आयोजना गरिरह्यो/ गरिरहेकै छन्। यही सिलसिलालाई समातेर २ वर्ष अघिदेखि चलिरहेको अनलाइन पब्लिकनामाले निकै महत्त्वपूर्ण लाइभ कार्यक्रमहरू लकडाउन अवधिमा गर्दै आइरहेको छ। भाषाप्रेमीहरूमाझ यस वर्षको भाषा दिवस कसरी मनाउने भन्ने अरकच्चैको अवस्था बुझेर नै होला पब्लिकनामाले सप्ताहव्यापी भाषा मान्यता दिवसलाई आफ्नो योजनाभित्र लिएको हुँदो हो”।
समालोचक-कवि महेश पौड्याल, काठमाडौँ, ले बताए, “पब्लिनामाले कोभिड–१९ को सन्त्रासबीच बाँचिरहेका हामी स्रष्टा र संस्कृतिकर्मीबीच जन-सरोकारका विविध पक्षमा नियमित साहित्यिक संवाद चलाएर, तीनवटा उल्लेखनीय कार्य गरेको मेरो ठहर छ । प्रथम, बौद्धिक अभ्यास, विमर्श र चिन्तन भयलाई परास्त गर्ने एउटा शक्तिशाली सञ्जीवनी हो भन्ने यसले प्रमाणित गरेको छ । दोस्रो, आजको समयमा स्थान भन्नु, सीमा भन्नु, विधा भन्नु र भूगोल भन्नु पनि सबै “भर्चुअल” यथार्थ भइसकेको, र आजको समयमा शक्तिको चाबी प्रविधिको र विषयवस्तुको समानान्तर ज्ञान भएकाहरूको हातमा अवस्थित रहेको कुरा यस कार्यक्रमले प्रमाणित गरेको छ । र तेस्रो, यस बहसले हामी लेखक, पाठक र कलाकार जहाँ जहाँ बसे पनि मानवीय सरोकारका आधारभूत आवश्यकता, शान्ति, अहिंसा र मानवकल्याणका विषयमा सबै उसै गरी चिन्तित र संवेदित छौँ, यद्यपि यसको कार्यदिशामा हाम्रा चिन्तनहरूका आंशिक भिन्नताहरू होलान् भन्ने कुरालाई साझा गरेको छ” ।
इतिहासकार-कवि सुवास सोताङ, गोरूबथानले बताए, “हामी विश्वका इतिहास पढ्छौँ तर हामी हाम्रै इतिहाससँग अनभिज्ञ छौँ । होइन, अब हामीले त्यस्तो गर्नु हुँदैन । हामीले आफ्नो इतिहास पनि पढ्नुपर्छ, जान्नुपर्छ । जान्नुपर्छ मात्र होइन तर हामीले हाम्रो गौरवशाली इतिहासको रक्षा पनि गर्नुपर्छ । भारतको सन्दर्भमा भारतीय नेपाली भाषीहरूले जान्नुपर्ने र संरक्षण गर्नुपर्ने गौरवपूर्ण इतिहास र उपलब्धि हुन् भारतीय संविधानमा नेपाली भाषालाई अन्तर्भूक्त गराउनको निम्ति गरिएको ३६ वर्षे सङ्घर्षको इतिहास अनि संघर्षको उपलब्धिस्वरूप भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाले पाएको ऐतिहासिक स्वीकृति । २० अगस्त १९९२ का दिन नेपाली भाषाले भारतीय संविधानको आठौँ अनुसूचीमा मान्यता पाउनु भारतीय नेपाली भाषीहरूको निम्ति सानो उपलब्धि थिएन । यो उपलब्धि भारतीय नेपाली/गोर्खाहरूले भारतमा पाएको आजसम्मकै उच्चतम उपलब्धि थियो, हो । तर यस्तो महान् उपलब्धि पनि हाम्रो निम्ति ‘कागलाई बेल पाक्यो हर्ष न विषाद’भनेझैँ बनिरहेको छ । यो कदापि उचित अवस्था होइन । यसैले अनि यस्तै अवस्थालाई बोध गरेर हुनसक्छ ‘पब्लिकनामा’-ले आगामी भाषा दिवसलाई छेक पारेर सप्ताहव्यापी रूपमा नेपाली भाषा मान्यताका विविध पक्षहरूमाथि राख्न गइरहेको वार्ता / विमर्श कार्यक्रम अति नै समय सान्दर्भिक र औचित्यपूर्ण हुन्छ भन्ने लागेको छ” ।
काविमेले थपे, “पब्लिकनामाले यो हप्ता भाषा दिवसलाई केन्द्र गरेर विशेष कार्यक्रम गर्दै रहेछ । हामीसँग एउटा समस्या छ । हामी हरेक भाषा दिवसमा नयाँ किसिमले बहस गर्छौं । नयाँ सङ्कल्प गर्छौं । योजना बनाउँछौँ र फेरि पहिले जस्तै बिर्सिदिन्छौं । पब्लिकनामा-को यो बहसले त्यो परम्परा तोड्न सकोस्। अब भाषालाई लिएर नयाँ योजना मात्र सुनाउने होइन, पुराना दिनमा गरिएका सङ्कल्पहरू कति कार्यान्वयन भए ? कति गर्न असमर्थ भयौँ? यसबारे पनि लेखाजोखा गर्न सकियोस्। छुटेको बाटोमा फेरि हिँड़्ने साहस जुटाउन सकियोस्।”
पब्लिकनामा निर्देशक शान्तिला सिङ्गर तामाङले पब्लिकनामाले आयोजित गर्न गइरहेको यो विमर्शमा सबै भाषाप्रेमीलाई सहभागी बन्ने, भाषा उत्सवको साक्षी बन्ने अनि भारतमा नेपाली भाषाको संवैधानिक मान्यता र उपलब्धिहरूबारे बुझ्ने-बुझाउने अवसर लिने आह्वान जनाएकी छन्।
उनले थप जनाएअनुसार, यो वार्ता शृङ्खला लकडाउनपछि पनि जारी राखिने भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।