हरेक वर्षझैँ डिसेम्बर २३ का दिन ‘ग्लोबल वाटरकलर आर्ट दिवस’ विभिन्न कार्यक्रम गरी मनाइएको छ । आईडब्लुएस नेपालको आयोजनामा कालिन्चोक, पोखरा र मोरङको केराबारीमा एकैसाथ यथास्थानमा चित्र रचना गरी दिवस मनाइएको हो।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल (आईडब्लुएस नेपाल) केन्द्रीय कमिटीका ९ जना कलाकारहरूको सहभागितामा पर्यटकीय स्थल कलिन्चोकको कुरी भन्ज्याङमा एकदिने यथास्थान कला कार्यशाला सम्पन्न गरिएकाे हाे । सो कार्यशालामा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकुलपति लालकाजी लामाको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा समाजका अध्यक्ष एनबी गुरुङ, वरिष्ठ उपाध्यक्ष डि. राम पाल्पाली, महासचिव दिपेन्द्रमान बनेपाली, सचिव केशवराज खनाल,  कोषाध्यक्ष भीम श्रेष्ठका साथै समाजका सदस्यहरू डिबी राई, विनोदकुमार गुप्ता र सुरेश श्याङ्तानको उपस्थित रहेको थियो ।

सहभागी कलाकारहरूले कुरी भन्ज्याङ वरपर हिउले ढाकेका सेताम्य दृश्यलाई क्यानभासमा उतारेका थिए ।

त्यस्तै, आईडब्लुएस नेपाल, गण्डकी प्रदेशको आयोजनामा पोखराको लेकसाइडमा ग्लोबल वाटरकलर डे मनाइएको छ । समाजका गण्डकी प्रदेश प्रमुख मनोज तामाङको अगुवाईमा सम्पन्न भएको उक्त कार्यक्रममा वरिष्ठ कलाकार हरेराम जोजु, रिक गुरूङ, गोपाल दराई, कमल गरुङलगायत डेढ दर्जनभन्दा बढी कलाकारहरूको उपस्थित रहेको थियो ।

सहभागी कलाकारहरूले फेवाताल वरपरका सुन्दर दृश्हरूलाई आ-आफ्नो क्यानभासमा उतारेका थिए ।

त्यस्तैगरी, कोशी प्रदेशको आयोजनामा मोरङको केराबारीमा पनि जलरङ दिवस मनाइएको छ । आईडब्लुएस नेपाल, कोशी प्रदेशका प्रमुख महेन्द्र राईको नेतृत्वमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि केराबारी गाउँपालिका वडा नं – ५ का वडाध्यक्ष अजय लिम्बु हुनुहुन्थ्यो ।

कार्यक्रममा वरिष्ठ कलाकार प्रनोददत्त हरिलाल उदाश, डिल्लीकृष्ण आले, प्रकाश चौधरीलगायत २० जनाभन्दा बढी चर्चित कलाकारको उपस्थिति रहेको थियो । सहभागी कलाकारहरूले केराबारी वरपरका सुन्दर दृश्यहरुलाई क्याभासमा उतारेका थिए ।

१२ वर्षअघि, सन् २०१२ जनवरी २३ का दिन स्थापना भएको आईडब्लुएस ग्लोबलको स्थापना दिवसलाई जलरङ माध्ययमा काम गर्ने विश्वभरका कलाकरले विषेश दिनको रूपमा मनाउने गर्दछन् ।