मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले विश्व प्रतिष्ठित फिल्म फेस्टिभल बर्लिनको प्रमुख प्रतिस्पर्धातर्फ छनोट भएकाे छ । बर्लिनको ७४ औँ संस्करणतर्फ अन्तर्राष्ट्रिय फिल्मको विधामा भामको यो फिल्म छानिएको हो ।

छनौट भएसँगै ‘शाम्बाला’ बर्लिनकाे प्रमुख प्रतिस्पर्धातर्फ छनौट हुने पहिलो नेपाली फिल्मको बनेकाे छ ।

फिल्ममा हिमाली भेगकी गर्भवती पेमाले व्यापारका लागि ल्हास्सातिर हराएका पति खोज्दाको यात्रा समेटिएको छ । अर्का पति कर्मा (देवर) सँग पतिको खोजीमा हिँडेकी पेमाले त्यही यात्रामा अनुभव गर्दै जाने कथा ‘शाम्बाला’ले प्रस्तुत गरेकाे छ ।

‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको अभिनय छ । फिल्ममा बहुपति प्रथासँग जोडिएकी महिलाको जीवनको गहिराईमा छिर्ने प्रयास भएको छ ।

मीन र निर्देशक अविनाश विक्रम शाह लिखित फिल्म शाम्बाला डोल्पाको ४२ सयदेखि ६ हजारको उचाइमा खिचिएको हो । फिल्म टिबेटियन र नेपाली भाषामा बनेको छ ।

नेपालसँगै फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान, अमेरिका र कतारसँगको सहकार्यमा बनेको फिल्मको बजेट ९ लाख ८० हजार युरो हो । भाम यो फिल्ममा विश्वका विभिन्न चर्चित ल्याबबाट करोडौंको अनुदान ल्याउन सफल भएका छन् ।

यसअघि ‘चिसो वर्ष’का नामले चर्चामा आएकाे यो फिल्मको नाम परिवर्तन गरी स्क्रिप्ट सुहाउँदो हुनेगरी ‘शाम्बाला’ राखिएकाे थियो ।

भाम निर्देशित लघु फिल्म ‘बाँसुल्ली’बाट पहिलोपटक नेपालबाट भेनिस प्रवेश पाएको थियो । फिचर फिल्म ‘कालोपोथी’ले त भेनिस क्रिटिक्स वीकतर्फ ‘फेडेरा उत्कृष्ट फिल्म अवार्ड’ जितेको थियो ।