संघीय संसद्ले जारी गरेको नयाँ प्रतीक (लोगो) त्रुटिपूर्ण रहेको भन्दै सर्वत्र विरोध र आलोचना भएपछि सचिवालयले लोगोलाई घरेलु कार्यालयमा सुधारका लागि फिर्ता गरेको छ ।

यसअघि आफूले बनाएको लोगोकै बेइज्जत गरिएको कलाकार तथा डिजाइनर टेकवीर मुखियाले बताएका थिए । उनको प्रतिक्रियापछि उनले बनाएको वास्तविक लोगोलाई नै पुनर्स्थापित गरिने अपेक्षा थियो तर त्यसतर्फ सचिवालय नलागाी भएकै डिजाइनलाई थोरै सुधार गरिने र कतिपय लत्पतिएका लोगोलाई मात्र सुधार गरिने संघीय संसद्को सचिवालय उपसचिव तथा सहायक सूचना अधिकृत दशरथ धमलाले साहित्यपोस्टलाई बताएका छन् ।

यसअघि डिजाइन फिर्ता गरिएको हल्ला चले पनि सो कुरामा कुनै सत्यता नभएको धमला बताउँछन् । उनले लत्पतिएको भाग मिलाउन बाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई जिम्मा लगाएको हो ।

धमलाले पछिल्लो समय हल्ला मच्चाइएको प्रतीक चिह्नमा कुनै समस्या नभएको समेत साहित्यपोस्टसमक्ष दाेहोर्याए ।

‘सामाजिक सञ्जालमा संघीय संसद्, नेपाल लेखिएकोमा संसद्को सं मा चन्द्रबिन्दु नभएको भनिएको छ तर त्यस्तो होइन । त्यहाँ सबै सही नै लेखिएको छ,’ उनले बताए ।

‘केही लोगो राम्रा पनि छन्, केही लोगोमा साज सज्जा र फिनिसिङ राम्रो नभएकाले फिनिसिङका लागि पठाएका हौँ । पूरै फिर्ता गरिएको वा अस्वीकृत भएको होइन,’ उनको भनाइ छ ।

उनले हातले बनाउने सामानमा फिनिसिङ मात्र नभएको तर लोगो सही नै भएकोमा पनि अडिग रहे ।

लोगो डिजाइन गरेबापत कलाकार टेकवीर मुखियालाई सरकारले ५० हजार रुपैयाँ दिएको थियो । कर काटेर ४२ हजार रुपैयाँ हात परेको मुखियाले साहित्यपोस्टलाई जानकारी दिए । ‘मेरो कलाको सम्मान हुँदैन र यसरी जथाभावी उपयोग गरिन्छ भने यसबापत मलाई दिइएको पारिश्रमिक म आजै फिर्ता गर्न तयार छु,’ मुखियाले भने, ‘सृजनामा रङ, कला, डिजाइनको अर्थ र महत्त्व के हुन्छ भनेर सुरुमा सरकारी कर्मचारीलाई बुझाउनु पनि जरुरी देखियो, यसरी जथाभावी गर्न पाइन्न ।’

बिग्रिएका १९० वटा लोगोलाई फिर्ता लगिएको भए पनि तिनलाई हस्तनिर्मित नै गरिने धमलाको भनाइ छ ।

प्रतीक चिह्नको चर्को विरोधपछि डिजाइनर टेकवीर मुखियाले आफ्नो कलामाथि घोर अन्याय भएको प्रतिक्रिया दिएका थिए।