मुक्तककार सुभद्रा अधिकारीको मुक्तकसंग्रह ‘सुभारम्भ’को विमोचन भएको छ । ‘हामी र हाम्रो कृति समूह’को एघारौँ कृतिको रुपमा सो पुस्तकको विमोचन गरिएकाे हाे ।

विमोचन समारोहका प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपाल, कार्यक्रमका सभापति कवि सूर्यप्रसाद लाकोजू, विशेष अतिथि कवि मोहन दुवाल, लोकगायक मच्छेश्वर सापकोटा, मुक्तककार सुभद्रा अधिकारीलगायतले कृतिको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

सो कार्यक्रममा प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपालले मुक्तक नेपाली साहित्यको लोकप्रिय विधा रहेको र यसले चटनीको जस्तै काम गर्ने विचार राखे । त्यसैगरी, कार्यक्रममा विशिष्ट अतिथि मोहन दुवाल, मुक्तककार राजन सिलवाल, लेखक तथा नागरिक आवाजको प्रधान सम्पादक मधुसुदन पाण्डे, प्रा.डा. दिनेश पन्थी, वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा, श्यामप्रसाद पाण्डे, मुक्तककार सुभद्रा अधिकारीलगायतले बोलेका थिए ।

विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, प्राध्यापक, समाजका गन्यमान्य व्यक्तित्व साथै साहित्यानुरागी मनहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन भुवन सिवाकोटीले गरेका थिए भने स्वागत मन्तव्य अमृता अधिकारीले राखेकी थिइन् ।