नेपाली छन्दकवितालाई व्यापक बनाउने उद्देश्यले साहित्यपोस्टले सुदूरपश्चिम प्रदेश छन्दकविता संयोजकमा कवि कपिल किशोर घिमिरेलाई चयन गरेको छ ।
पिता स्व. ऋषिराम शर्मा घिमिरे र माता स्व. यवादेवी शर्मा घिमिरे कोखबाट घोराही उ.म.न.पा.-२, रामपुर, दाङ जन्मनुभएका साहित्यकार कपिल किशोर घिमिरे हाल भजनी न.पा.-६ थापापुर कैलाली बस्दै आउनुभएको छ ।
पेशाले पूर्व प्रधानाध्यापक कवि घिमिरेको अध्ययन कालदेखि गद्य कविता लेखनमा लागेको र प्रकाशनका लागि संकलन तयारी गर्दै गर्दा दुईवटा ठूला नोटबुकहरू २०३६ मा घर खान तलासीका क्रममा तत्कालीन प्रमुख जिल्ला अधिकारीद्वारा लगिएको तर फिर्ता पाउन गरिएका सबै प्रयासहरू असफल भएको तितो सत्य अझै उहाँसँग रहेको छ ।
हाइकु, लघुकथा, जुनेली, छेस्का, गजल, मुक्तकमा बेलाबेला कलम चलाए पनि मूल विधा घिमिरेको
छन्दकविता नै रहेको छ ।
दुईवटा संयुक्त साइनो संग्रहमा साइनोहरू प्रकाशित घिमिरे विभिन्न साहित्यिक सङ्घ संस्थामा आबद्ध रहनुभएको छ ।
नेपालमा छन्दमा कविता लेख्ने प्रचलन प्रायः हराउँदै गएको परिप्रेक्ष्यमा साहित्यपोस्टले कसरी यसलाई पुनर्जागरणमा ल्याउन सकिन्छ भन्ने हेतुले विशेष कार्यको सञ्चालन गरिरहेको छ । अहिले हरेक बिहीबार हप्तामा “तीन छन्द कविका तीन कविता” प्रकाशनमा आएको छ । यसको नेतृत्व साहित्यपोस्टका छन्दकविता सम्पादक साहित्यकार यम रेग्मी गर्नुभएको छ।
प्रत्येक प्रदेशमा संयोजक चयन गरिनुको मुख्य उद्देश्य मोफसल रहेका प्रतिभालाई मूलधारको पत्रिकामा ल्याउने, छन्दकवितासम्बन्धी पाठशाला
संचालक गर्ने, हराउँदै गएको छन्दकविता लेखनलाई पुनः जाँगरमा ल्याउने, प्रत्येक प्रदेशमा भए गरेका साहित्यिक कार्यक्रम समाचार बनाएर प्रकाशनमा ल्याउने, साहित्यपोस्टमा प्रकाशित रचनालाई संकलन गरेर (ई ) पुस्तक प्रकाशन गर्ने, समग्र रूपमा नेपाली छन्दकविता विकास गर्ने उद्देश्य रहेको छ ।
यसका साथै छन्दकविताप्रति पाठकको अत्यधिक माग हुनु, पाठकको अथाह माया, व्यापक मात्रामा साहित्यपोस्टमा छन्दकविता प्राप्त हुनु, पाठकको धेरै मात्रामा साथ, सहयोग, उत्प्रेरणा र विश्वास देखिएकोले यसलाई विशाल तरिकाले सञ्चालन गर्नुपरेको साहित्यपोस्टका छन्दकविता सम्पादक रेग्मीले बताउनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।