नेपाली छन्दकवितालाई व्यापक बनाउने उद्देश्यले साहित्यपोस्टले मदेश प्रदेशको छन्दकविता संयोजकमा छन्दकवि सरू बस्नेतलाई चयन गरेको छ ।
वि.सं.२०४६ वैशाख २२ गते खोटाङको बाक्सिलामा साहित्यकार बस्नेत जन्म भएको थियो । हाल निजगढ- ७,बारा बस्दै आउनुभएकी बस्नेतको रोशनी (गजलसङ्ग्रह)बजार आएको छ ।
साहित्य लेखन तथा अध्ययन रूचि राख्ने साहित्यकार बस्नेत पेसाले शिक्षकको रूपमा रहनुभएको छ ।
कला तथा गलाले हजारौं पाठकको मन जित्न सक्ने छन्दकवि बस्नेत धेरै छन्द खेलाएर सुन्दर कविता लेख्न सक्ने नारी कविको रूपमा चिनिदै आउनुभएको छ ।
शार्दूलविक्रीडित, शिखरिणी, मन्दाक्रान्ता, मालिनी, भुजङ्गप्रयात, स्रग्धरा, पञ्चचामर, उपजाति, ताेटक, वसन्ततिलका, स्रग्विणी, पृथ्वी, विधाता दिक्पाल, रथाेद्धता, द्रुतविलम्बित, स्रग्शार्दूल, छाया, शालिनी, इन्द्रवज्रा, मञ्जुला, फुल्लदाम लगायत वर्णमात्रिक छन्दमा कलम चलाउँदै आउनुभएको छ ।
गजल, मुक्तक, टुक्का, कतैकतै लघुकथा, बाछिटा, हाइकुसेन्यू, तियाली, केस्रा आदि विधामा कलम चलाए पनि पछिल्लो समयमा छन्दकवितामा उहाँ सक्रिय हुनुहुन्छ ।
आरोहण (छन्दकविता सङ्ग्रह) सरूका चुस्स (चुस्स छन्दटुक्रा सङ्ग्रह) प्रकाशनको तयारीमा रहनुभएका कवि बस्नेतले प्रायः हाम्रो समाजमा देखिएका सामाजिक, सांस्कृतिक तथा धार्मिक विभेद, प्रेमविछोड, राजनीतिक विकृति, अभाव, श्रमशोषण, प्रकृतिप्रेम, देशप्रेम, मातृप्रेम आदि विषय कलम चलाएको पाइन्छ ।
साहित्यिक चौतारी नेपालको केन्द्रीय उपाध्यक्ष
समेत रहनुभएकी कवि बस्नेत गौरी पब्लिक रिलेसन एन्ड पब्लिकेसन सम्मान पत्र (काठमाडौँ), पश्चिमी साहित्यिक आवाज सम्मान पत्र, अनेसास भानु सम्मान (२०२०), दाहाल प्रतिष्ठान झापा, प्रतिभा सम्मान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोरिया च्याप्टर सम्मान पत्र (२०७७) लगायतका अन्य सङ्घसंस्थाबाट सम्मानित हुनुभएको छ ।
नेपालमा छन्दमा कविता लेख्ने प्रचलन प्रायः हराउँदै गएको परिप्रेक्ष्यमा साहित्यपोस्टले कसरी यसलाई पुनर्जागरणमा ल्याउन सकिन्छ भन्ने हेतुले विशेष कार्यको सञ्चालन गरिरहेको छ ।
अहिले हरेक बिहीबार हप्तामा “तीन छन्द कविका तीन कविता” प्रकाशनमा आएको छ । यसको नेतृत्व साहित्यपोस्टका छन्दकविता सम्पादक साहित्यकार यम रेग्मी गर्नुभएको छ।
प्रत्येक प्रदेशमा संयोजक चयन गरिनुको मुख्य उद्देश्य मोफसल रहेका प्रतिभालाई मूलधारको पत्रिकामा ल्याउने, छन्दकविता सम्बन्धी पाठशाला
संचालन गर्ने, हराउँदै गएको छन्दकविता लेखनलाई पुनः जाँगरमा ल्याउने, प्रत्येक प्रदेशमा भए गरेका साहित्यिक कार्यक्रम समाचार बनाएर प्रकाशनमा ल्याउने, साहित्यपोस्टमा प्रकाशित रचनालाई संकलन गरेर (ई ) पुस्तक प्रकाशन गर्ने, समग्र रूपमा नेपाली छन्दकविता विकास गर्ने उद्देश्य रहेको छ ।
यसका साथै छन्दकविताप्रति पाठकको अत्यधिक माग हुनु, पाठकको अथाह माया, व्यापक मात्रामा साहित्यपोस्टमा छन्दकविता प्राप्त हुनु, पाठकको धेरै मात्रामा साथ, सहयोग, उत्प्रेरणा र विश्वास देखिएकोले यसलाई विशाल तरिकाले सञ्चालन गर्नुपरेको साहित्यपोस्टका छन्दकविता सम्पादक रेग्मीले बताउनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।