नेपाली छन्दकवितालाई व्यापक बनाउने उद्देश्यले साहित्यपोस्टले वाग्मती प्रदेशको छन्दकविता संयोजकमा छन्दकवि जानुका गुरागाईंलाई चयन गरेको छ ।

पिता दिनानाथ गुरागाईं र माता धनमाया गुरागाईँ को कोखबाट विर्तामोड नगरपालिका-५, झापामा छन्दकवि गुरागाईंको जन्म भएको थियो । केही वर्षदेखि काठमाडौं बस्दै आउनुभएकी छन्दकवि गुरागाईँ हाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय कार्यरत हुनुहुन्छ ।

नेपाली छन्दकविताको क्षेत्रमा आफ्नो प्रतिभाले अरूभन्दा भिन्नै पहिचान बनाउन सफल गुरागाईँको परिवेशका सुसेली (गजल सङ्ग्रह) बजारमा आएको छ ।

अज्ञात (बाछिटकृति), नियात्रा जिन्दगीको ( छन्द कविता सङ्ग्रह)जाग्दै छ रहर (गजल सङ्ग्रह ) उहाँका प्रकाशोन्मुक कृति रहेका छन् । एम.एड.सम्मको उच्च शिक्षा हासिल गर्नुभएकी छन्दकवि गुरागाईँले समकालीन समाजका र समसामयिक विषयवस्तुमा देखिएका विकृति र विसङ्गतिमा आधारित रहेर चोटिला सिर्जना प्रहार गर्दै आउनुभएको छ ।

नेपालमा छन्दमा कविता लेख्ने प्रचलन प्रायः हराउँदै गएको परिप्रेक्ष्यमा साहित्यपोस्टले कसरी यसलाई पुनर्जागरणमा ल्याउन सकिन्छ भन्ने हेतुले विशेष कार्यको सञ्चालन गरेका थियौँ । अहिले हरेक बिहीबार हप्तामा “तीन छन्द कविका तीन कविता” प्रकाशनमा आएको छ । यसको नेतृत्व साहित्यपोस्टका छन्दकविता सम्पादक साहित्यकार यम रेग्मी गर्नुभएको छ।

प्रत्येक प्रदेशमा संयोजक चयन गरिनुको मुख्य उद्देश्य मोफसल रहेका प्रतिभालाई मूलधारको पत्रिकामा ल्याउने, छन्दकविता सम्बन्धी पाठशाला संचालक गर्ने,हराउँदै गएको छन्दकविता लेखनलाई पुनः जाँगरमा ल्याउने , प्रत्येक प्रदेश भए गरेका साहित्यिक कार्यक्रम समाचार बनाएर प्रकाशनमा ल्याउने, लेखकका प्रकाशित रचनालाई संकलन गरेर (ई ) पुस्तक प्रकाशन गर्ने ,समग्र रूपमा नेपाली छन्द कविता विकास गर्ने उद्देश्य रहेको छ ।

यसका साथै छन्दकविताप्रति पाठकको अत्याधिक माग हुनु, पाठकको अथाह माया,व्यापक मात्रामा साहित्यपोस्टमा छन्दकविता प्राप्त , पाठकको धेरै मात्रामा साथ, सहयोग , उत्प्रेरणा र विश्वास देखिएकोले यसलाई विशाल तरिकाले सञ्चालन गर्नुपरेको साहित्यपोस्टका छन्दकविता सम्पादक रेग्मीले बताउनुभयो ।