महेश संस्कृत गुरुकुलको आयोजनामा मकर काव्य यामिनीको २१ अ‍‍ौँ शृङ्खला सम्पन्न भएको छ । विसं २०६० बाट नियमित सञ्चालन हुने मकर काव्य यामिनी माघे सङ्क्रान्तिको अघिल्लो रात पौष मासान्तमा हुने राष्ट्रिय स्तरको काव्यिक महोत्सव हो ।

माघ १ गते तीर्थस्नान गर्नुपूर्व काव्यपान गर्नु नै यसको विशिष्ट पहिचान हो ।

प्रा डा दयाराम श्रेष्ठ ‘सम्भव’ को प्रमुख आतिथ्यमा भएको काव्य यामिनीमा महेश संन्यास आश्रमका पीठाधीश रमणानन्द गिरिले सभापतित्व ग्रहण गरेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले विशिष्ट आतिथ्य एवम् नेपाल संस्कृत विश्वविद्यालयका प्रा. डा. जीवन अधिकारी , त्रिभुवन विश्वविद्यालयका नारायण गर्तौला , वाल्मीकि विद्यापीठका प्राचार्य भागवत ढकाल, प्रा. डा. गुरुप्रसाद सुवेदी आदिको विशेष आतिथ्य रहेको थियो । कवि सुदेश सत्याल ,कवि दुर्गा रिजाल , भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव वालकृष्ण थपलिया , प्रा. डा. नवराज पाण्डेय ‘चातक’ , आदि विशिष्ट व्यक्तित्वहरूको आतिथ्य रहेको थियो ।

चितवन , हेटौंडा ,काठमाडौं ,गोरखा , पोखरा आदि ठाउँबाट काव्यरसिकहरूको सहभागीता रहेको काव्य यामिनीमा ५०० भन्दा धेरै दर्शक श्रोताहरूको उपस्थितिले महेश सभा कक्ष खचाखच रहेको थियो । गुरुकुलका केही प्रतिनिधि साधक कविहरूको साथमा ८२ जना कविहरूले कविता वाचन गरेका थिए । देशभक्ति, प्रकृति प्रेम, दार्शनिक एवम् आध्यात्मिक कविताहरू वाचन गरिएका थिए जसमा ३ संस्कृत कविता, एउटा अङ्ग्रेजी कविता , २६ गद्य कविता र ५२ छन्दोबद्ध कविता वाचन भएका थिए ।

कार्यक्रमको सञ्चालक गुरुकुलका अध्यापक तथा कार्यक्रम संयोजक सन्तोष घिमिरेले गरेका थिए । गुरुकुलका छात्रहरूले स्वागतगान तथा विद्यापीठका प्राचार्य कमल सुवेदीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । त्षसपछि निरन्तर काव्य वाचन रहेको थियो । ८ बजेबाट सुरु भएको कार्यक्रम राति १ बजेसम्म चलेको थियो । कार्यक्रमलाई महेश संस्कृत गुरुकुलको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनुका साथै , रेडियो देवघाट, बिहानी मिडिया , नारायणी अनलाइन , सेरोफेरो अनलाइन आदि सञ्चार माध्यमले मिडिया संयोजन गरेका थिए ।

कार्यक्रम विगतका वर्षहरूमा जस्तै सभ्य र भव्य भएको आयोजक संस्थाले जनाएको छ । काव्यपानद्वारा समाधिको अवस्थामा पुगेको कुरा प्रा डा दयाराम श्रेष्ठले जनाउनु भएको थियो ।