पोखरा । माघको महिना । मकर सङ्क्रान्तिको बिहान । चिसो वातावरण । पोखराका साहित्यकारहरू, कलाकारहरू, विभिन्न संस्थाका नेतृत्वकर्ताहरू, व्यक्तित्वहरू सिर्जनाचोकमा रहेको ह्वाइट हाउस पार्टी प्यालेसमा एकपछि अर्को गर्दै भेला हुँदै गए ।

वातावरण चिसो थियो । उपस्थित व्यक्तित्वहरूका अनुहारमा घामका किरणले स्पर्श गरिरहेका थिए । उपस्थिति बाक्लिँदै गयो र माहोल क्रमशः न्यानो बन्दै गयो । कवि तीर्थ श्रेष्ठ, विश्लेषक विश्व सिग्देल, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यराज ढकाल लगायतका व्यक्तित्वहरू गफमा मस्त भइरहेको दृश्य देखिन्थ्यो । साहित्यकार डा. ईश्वरमणि अधिकारी, दीपक समीप, लक्ष्मण थापा, गनेस पौडेल, रीता अधिकारी लगायतका व्यक्तित्वहरू बडो रसिक देखिन्थे ।

जीवनसागर भण्डारी, उपेन्द्र पौडेलका मिठा गफमा थप मिठास थप्न नजिकै मुस्कुराउँदै आइपुगे डा. वसन्त गौतम । काठमाडौँबाट आइपुगेका अल्पज्ञानी अष्ट्रेलियाबाट आइपुगेका कवि निष्प्रभ सजीसँग कानेखुसी गरिरहेका थिए । एकैछिनमा चिउरा, तरुल, सखरखण्ड, खुदो, घिउ, चाकु, तिलको लड्डु आदि खानेकुरा टेबलमा सजिसजाउ देखिए । आयोजक पुछारसिटे अभियानका अभियन्ताहरू उपस्थित सबैलाई माघे सङ्क्रान्तिको परिकार ग्रहण गर्न आग्रह गरे ।

केहीबेरमा सबै लामबद्ध भए । हरेकले आफ्नो रुचिअनुसारका परिकार प्लेटमा राख्दै गए । कुर्सीमा बसेर माघे सङ्क्रान्तिका अवसरमा खाइने खानेकुराको स्वाद लिए । चियापान सकिएपछि अभियानका संयोजक सञ्जीव पौडेलले कार्यक्रमको हलतिर जान सबैलाई आग्रह गरे ।

सन्दर्भ थियो पुछारसिटे अभियान, पोखराले आयोजना गरेको एकल कविता वाचनको । कार्यक्रमको नाम राखिएको थियो – ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा वसन्त । पुछारसिटे अभियानले आयोजना गर्ने एकल कविता वाचनको आठौँ शृङ्खलामा कविता वाचकका रूपमा उभिएका थिए कवि वसन्त गौतम ।

मञ्चमा माइक समाएर उभिए पुछारसिटे अभियानका अभियन्ता श्रीराम अधिकारी ‘गोर्जे’ । पुछारसिटे अभियानका बारेमा केही जानकारी गराएर उनले कार्यक्रमको थालनी गरे । उपस्थित सम्पूर्णलाई अभियानका संयोजक सञ्जीव पौडेलले स्वागत गरे । उनैले कवि वसन्त गौतमलाई कविता वाचनका लागि अगाडि आमन्त्रण गरे । पछाडिको सिटबाट उठेर कविता सुनाउँदै अगाडि आए वसन्त:

जुनेली साँझ

म यात्राको तयारीमा छु

लाग्छ,

म सधैँभरि यात्राको तयारीमा छु

भगवान !

जीवन के हो ?

यात्रा वा यात्राको तयारी ?

अनि उनले आफ्नो कविता वाचन थाले ।

‘सप्ताहन्तको साँझ’ शीर्षकको यो कविताबाट आफ्नो एकल कविता वाचन सुरु गरेका उनले बिचबिचमा आफ्नो जीवनयात्राका विविध मोड र घुम्तीहरू सम्झे । सम्झँदा सम्झँदै उनले प्रेम सम्झे, यसरी:

तिमी छ्यौ 

र त पवित्र मन्दिर लाग्छ

मलाई मेरो हरेक बास,

अहोभावले भरिएका छन्

मेरा प्रत्येक पलहरू 

वर्तमान समाजको अवस्था र राजनीतिक बेथितिबारे आफ्ना विचार पस्कन थाले:

इतिहासको यो कालो पानामा

ब्याधाको राज छाएको छ 

जँड्याहाले काज पाएको छ

र लम्पटले पाठ पढाएको छ ।

पचासको दशकदेखि कविता लेख्दै आएका गौतमको ‘छोरीको देश’ कवितासङ्ग्रह प्रकाशित छ । इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोक क्याम्पसका सहप्राध्यापक उनी प्राध्यापन पेशामा आबद्ध छन् । जापानबाट इलेक्ट्रिकल इन्जिनियरिङमा पिएचडी गरेका उनी सामाजिक, राजनीतिक विकृति एवम् विसङ्गतिमाथि विद्रोही विचार राख्छन् । एक विद्रोही विचारकका रूपमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उपस्थिति जनाएका उनी कवितामा भने कोमलता र विद्रोह दुवैको उत्तिकै सुन्दर परिपाक गर्छन्:

कमरेड विदेश गएर ‘पुच्छर झिक्छु’ भन्नुभयो

र स्वदेश आएर ‘पुच्छर थप्छु’ भन्नुभयो

र कमरेडले क्रमभङ्ग गर्नुभयो । 

केही कविता वाचन गरिसकेपछि उनले कवि अल्पज्ञानीलाई आफ्नो एउटा कविता वाचन गर्न आग्रह गरे । डेढ दर्जन कविता प्रस्तुत गरेका गौतमले कवि तीर्थ श्रेष्ठलाई उपस्थित सबैका तर्फबाट शुभकामना मन्तव्य राखिदिन अनुरोध गरे । समाज, देश सम्झँदै परदेशीका पीडा सम्झेका कविले नेपालमा वैदेशिक हस्तक्षेपलाई यसरी व्यङ्ग्य गरे:

कुट्यो भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ

हामी राजीखुसीले कुटिएका हौँ भन्नुपर्छ

लुट्यो भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ

हामीले राजीखुसी राजीनामा दिएका हौँ भन्नुपर्छ 

उसले

हाम्रो ढाडमा छुरा रोप्न पाइरहनुपर्छ

उसले ढाडमा छुरी रोपेका बेला

हामीले ऐया ! भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ । 

डेढ दर्जन कविता सुनाइसकेपछि कवि गौतमलाई विश्व सिग्देलको हातबाट मायाको चिनो प्रदान गरेसँगै कार्यक्रम समापन भयो । २०७४ सालमा स्थापना भएको संस्थाले साहित्य, शिक्षा र पर्यटनका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । संस्थाले हरेक असार १५ मा दही चिउरासँग कविता र माघ १ का घिउ, चाकु र तरुलसँग कविता गरी दुई एकल कविता वाचन नियमित आयोजना गर्दै आएको छ ।

एकल कविता वाचनको यो आठौँ संस्करण भएको अभियन्ता मेघराज आचार्यले जानकारी दिए । यसभन्दा अगाडि प्रकट पँगेनी ‘शिव’, अल्पज्ञानी, अर्जुन ढकाल, लक्ष्मण थापा, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ ‘सरू’, इन्द्र राना ‘प्रतीक’ यस मञ्चमा उभिइसकेका छन् ।