जीवन लामा, दोलखा । दुर्गाप्रसाद शिवाकोटीको जीवनी समेटिएको पुस्तक ‘चौघरा: दुर्गा दाइ’को चौघरामै विमोचन गरिएको छ ।
कालिञ्चोक गाउँपालिका वडा नं. ८ सुनखानी चौघरा निवासी स्वर्गीय दुर्गाप्रसाद शिवाकोटीले जीवनकालमा शिक्षा, स्वास्थ्य, सामाजिक कार्य र विकासमा दिएको योगदानको बारेमा उल्लेख गरिएको ‘चौघरा: दुर्गा दाइ’ नामक पुस्तक आज विमोचन गरिएको हो ।
छोराहरू माधवप्रसाद शिवाकोटी र यादवप्रसाद शिवाकोटीका बुबा स्वर्गीय दुर्गाप्रसाद शिवाकोटीले सुनखानीको विकास र चौघराभित्रको सकस र वंश विस्तारमा महत्त्वपूर्ण योगदान दिएका थिए । सुनखानीको विकास निर्माणलाई महत्त्वपूर्ण योगदान दिएकै कारण बुबाको योगदानलाई लिपिबद्ध गर्नका लागि पुस्तक प्रकाशन गरिएको प्रकाशक तथा जेठो छोरा माधवप्रसाद शिवाकोटीले बताउनुभयो ।
छोरा माधवप्रसाद शिवाकोटीले प्रकाशन गरिएको यस पुस्तक रोहिणीप्रसाद घिमिरेले लेखेका हुन् । यस पुस्तकमा स्वर्गीय दुर्गाप्रसाद शिवाकोटीले जीवनकालमा भोगेका सुख-दु:खको कुरा, अनुभव र सुनखानीको विकास निर्माणमा दिएको योगदानलाई समेटिएका छन् ।
‘चौघरा: दुर्गा दाइ’ पुस्तक विमोचन माधवप्रसाद शिवाकोटीका आमा विष्णुमाया शिवाकोटीको अध्यक्षता र कालिञ्चोक गाउँपालिका वडा नं. ८ सुनखानीका वडाअध्यक्ष सूर्यबहादुर आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा जिल्ला विकास समिति दोलखाका पूर्वउपसभापति कृष्ण प्रसाद शिवाकोटी, होम पाठक, गोकर्ण शर्मा त्रिपाटी, पदमराज खरेल, राजेन्द्र शिवाकोटी, टहल आचार्य, रोहिणी शिवाकोटी र कल्पना खरेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।