जर्मनीको स्टुटगार्टमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मनी च्याप्टरद्वारा आयोजित अनेसास साहित्यिक समारोह सफलताका साथ सम्पन्न भएको छ ।

करिब १०० जनाको सहभागिता रहेको सो समारोहमा दुई दर्जन बढी सर्जकले आआफ्नो कविता, गीत तथा गजल प्रस्तुत गरेका थिए भने साहित्यिक विमर्श पनि समावेश गरिएको थियो ।

कार्यक्रम अन्तर्गत “जर्मनीमा नेपाली साहित्यको इतिहास, वर्तमान र भविष्य” विषयक विमर्शमा जर्मनीको साहित्यिक इतिहासको बारेमा खड्ग न्यौपानेले जानकारी गराएका थिए भने अनेसास जर्मनीको भावी योजनाका बारेमा अनेसास, जर्मनी च्याप्टरका अध्यक्ष सुजाता राउत घिमिरे राउतलेले जानकारी गराएकी थिइन् ।

अनेसास अफ्रिका च्याप्टरका सल्लाहकार एवं अनेसास जर्मनी च्याप्टर गठनमा पछिल्लो पटक सक्रिय भूमिकामा रहेका सुवासचन्द्र सापकोटाले अनेसासको सामान्य परिचयसहित अनेसास जर्मनी च्याप्टरको औचित्यमाथि प्रकाश पारेका थिए ।

विमर्शको सञ्चालन कपिल अर्यालले गरेका थिए ।

त्यसैगरी, प्रवासी श्रष्टाहरुलाई आफ्ना कृति प्रकाशनमा सघाउ पुर्याउने हेतुले सिमा ढुङ्गानाद्वारा सञ्चालित “प्रवासी साहित्य प्रकाशनका अवसर र चुनौतीहरु” विषयको विमर्शमा ‘अञ्जुलीमा थाप्न पाए’ र ‘आफैँलाई खोज्न मन छ’ कृतिका सर्जक कवि तथा गीतकार सागर फुयाल, ‘क्षितिज पारिको बस्ती’ का रचियता कवि लीलाराज कार्की तथा ‘आभा’ उपन्यासका उपव्यासकार एवं कवि सुमन सिंखडाले  आ-आफ्नो प्रकाशनको अनुभव सुनाएका थिए ।

कार्यक्रममा सहभागी श्रष्टा सागर फुयाल, खड्ग न्यौपाने र लीलाराज कार्कीले आफ्नो कृतिहरु बापत जम्मा भएको रकम सहयोग स्वरुप अनेसास जर्मनी च्याप्टरलाई प्रदान गरेका थिए ।

अनेसास, जर्मनी च्याप्टरकी अध्यक्ष सुजाता घिमिरे राउतबाट आयोजक तथा सहभागीहरूलाई धन्यवाद दिदै जर्मनीमा नेपाली साहित्यलाई अझ विकास र विस्तार गर्ने प्रतिबद्धता सहित कार्यक्रमको औपचारिक समापन भएको थियो।

अनेसास जर्मनीका कार्यसमिति सदस्यलगायतलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरेर समापन गरिएको कार्यक्रमको सञ्चालन एलिजा हुमागाईं र रमण जैसेरीले गरेका थिए ।