दाङ / राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे मासिक नियमित कार्यक्रम कृति समीक्षा अन्तर्गतकाे १८९ औं श्रृङ्खलामा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले प्रकाशन गरेकाे वार्षिक मुखपत्र “साहित्य पुञ्ज”को समीक्षा गरिएको छ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा ‘समीर’काे अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका केन्द्रीय सल्लाहकार तथा निवर्तमान केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा उक्त कृतिको समीक्षा प्रगतिशील लेखक सङ्घका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ साहित्यकार पद्मप्रसाद शर्माले गर्नुभएको थियो।
समीक्षकको रूपमा बोल्दै शर्माले यसमा रहेका सबै रचना उत्कृष्ट भएकाले र सबै विधालाई समान रूपमा समेटिएकोले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले समीक्षाको क्रममा सम्पादक मण्डल मेहनत, त्याग र समर्पणप्रति खुलेर प्रशंसा गर्नुभयो ।
कार्यक्रममा बाेल्नुहुँदै प्रमुख अतिथि पुरुषोत्तम खनालले सर्जकका सिर्जनाले आफूलाई अत्यन्तै हर्षित तुल्याएको साथै सर्जकहरूका कलमले निरन्तरता पाउने कुरामा आफू आशावादी रहेको बताउनुभयो ।
राप्ती साहित्य परिषदका केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटा, जिल्ला शाखा दाङका सल्लाहकार नगेन्द्र गुरु, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाली लेखक सङ्घका अध्यक्ष डा. हिमलाल पन्थी, प्राध्यापक तथा साहित्यकार चन्द्रबहादुर थापा, पुरस्कार संस्थापक तथा साहित्यकार नरेशजंग राणा, प्रमोद धिताल, मेघराज भट्टराई, सुवास न्यौपाने, साहित्यकार हरिप्रसाद पौडेल “स्वर्ण शिखा”, धनसिंह गिरी, नारदप्रसाद भण्डारी, महेशकुमार न्यौपाने, हेमबहादुर वली, मधुसुदन गौतम, देवेन्द्रकुमार रिजाल, विमला डाँगी (विकलता), गिरिप्रसाद पन्थी, दामोदर पौडेल, वीणा रोका, वसन्त अनुभव, विश्व नेपाली महासङ्घ अध्यक्ष सुरेशकुमार पाण्डे लगायतका दर्जनौं साहित्यकार उपस्थिति थियो।
शाखाका अध्यक्ष दीपक शर्मा समीरले यस वार्षिक मुखपत्रमा प्रकाशितसँगै साहित्य सर्जकहरूको सिर्जनाले पनि उचित स्थान पाउनुको साथै सिर्जनात्मक निरन्तरताले नै सर्जकहरूको कलम अझै तिखारिने र संस्थाले आफ्ना कार्यक्रमहरू अगाडि बढाउन पाएकोमा खुसी व्यक्त गर्नुभयाे।
“राप्ती काव्य अनलाइन शहर” सञ्चालक तथा “साहित्य पुञ्ज” मुखपत्रका कार्यकारी सम्पादक यम रेग्मीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण वरिष्ठ गीतकार तथा परिषद्का सचिव प्रकाश के.सी.ले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।